विराटनगर — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तर्फबाट आयोजना गरिने औपचारिक कार्यक्रममा बारम्बार बोलाउँदा पनि सहभागी नहुनेहरूलाई आगामी दिनमा नबोलाउन निर्देशन दिएका छन्।सिंहदरबारमा सोमबार बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले कार्यक्रममा सहभागी नहुनेको नाम अब सूचीकृत नगर्न स्पष्ट निर्देशन दिएका हुन्। उनले यो टिप्पणी विशेषतः काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहप्रति संकेत गर्दै गरेका थिए।
प्रधानमन्त्री ओलीले भने, ‘कहिल्यै पनि नआउने, नाम राखिरहनुपर्ने । मानको खातिर मानको चलनचाहिँ छोड्दा पनि हुन्छ कि क्या हो!’ उनले यस्ता नाम रेकर्ड हेरेर आगामी कार्यक्रममा समावेश नगर्न सुझाव दिए।
उनले कार्यक्रममा भाग लिन इच्छुकहरूको पहिचान गर्न सम्बन्धित निकायलाई आग्रहसमेत गरे। ‘हेर्नुहोला रेकर्ड — को एकपटक पनि आउँदैन। त्यो रेकर्ड हेरेर आउने हो कि होइन सोधेर, आउने नभए नाम नराख्नुहोला,’ प्रधानमन्त्री ओलीले भने।
बैठकमा प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई सरकारी औपचारिकतामा सीमित नराखी जनस्तरमा व्यापक रूपमा मनाउनुपर्नेमा जोड दिए।सरकारले यस वर्षको गणतन्त्र दिवस जेठ १४, १५ र १६ सम्म तीन दिन विशेष कार्यक्रम गरी भव्य रूपमा मनाउने निर्णय गरेको छ। सोही तयारीका लागि सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको हो।
समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, काठमाडौँ र ललितपुर महानगरपालिकाका प्रमुख, मुख्यसचिव, प्रधानसेनापति, विशिष्ट श्रेणीका सरकारी अधिकारी, सुरक्षा निकायका प्रमुखलगायत सदस्य रहनेछन्।बैठकले गणतन्त्र दिवसको अवसरमा सार्वजनिक निकायहरूमा दीप प्रज्ज्वलनसहित त्रिदिवसीय कार्यक्रम सञ्चालन गर्न केन्द्र, प्रदेश र स्थानीय तहका तहगत समिति तथा उपसमिति गठन गर्ने निर्णयसमेत गरेको छ। यसमा निजी क्षेत्र, संघसंस्था र अन्य सरोकारवालालाई समेत समेटिनेछ।
#बालेन्द्र#ओली #द्वन्द्व