पोखरा– पोखरा भ्रमण वर्ष २०२५ को घोषणा गर्ने क्रममा बेलुन पड्किँदा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका छन् । विद्युतीय स्विच थिचेर भ्रमण वर्ष लेखिएको ब्यानर सहितको बेलुन उडाउने क्रममा उक्त घटना भएको हो । दीप प्रज्वलन गरिएको पानस नजिकै भए पछि हाइड्रोजन भरिएको बेलुन पड्किएको हो । पौडेल र आचार्यलाई आगोको लप्काले भेटेको थियो । 

घटना लगतै गण्डकी अस्पताल लगिएका पौडेल र आचार्यलाई पछि थप उपचारको लागि हेलिकप्टरबाट कीर्तिपुरस्थित बर्न अस्पताल पु¥याइएको छ ।  दुवैको गाला, गर्धन र हातमा जलन भएको बताए । आचार्यलाई पनि बढी असर परेको प्रहरीले जनाएको छ । 

प्रत्यक्षदर्शीहरुका अनुसार दीप प्रज्वलनपछि रिमोटबाट बेलुन उडाउने क्रममा झिरझिरेको आगोले टिपे पछि ठूलो आवाजसहित बेलुन पड्किँदा आचार्यको गाला , पौडेलको कोट र टोपीमा आगोको झिल्का लागेको थियो ।

पर्यटनमन्त्री बद्री पाण्डे र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा उद्घाटन सम्पन्न भएको छ ।