विराटनगर– भारतको उत्तर प्रदेशस्थित प्रयागराजको कुम्भमेलाबाट फर्किने क्रममा चार नेपालीको शुक्रबार राति गोरखपुर लिंक रोडमा सवारी दुर्घटनामा मृत्यु भएको छ । ६ जना घाइते छन् ।

प्रहरीका अनुसार मृत्यु हुनेहरुमा सप्तरीको कञ्चनरूप नगरपालिका–७ का ६५ वर्षीय परशुराम चौधरी, ६४ वर्षीया लीलावती चौधरी, कञ्चनरूप–५ की ५५ वर्षीया हरिहर वती यादव, उनकी भाउजू सुनसरीको कुशहा–१ की समतोलियादेवी यादवको मृत्यु भएको छ ।

उक्त गाडीमासवार सवार कञ्चनरूप–१ स्थित लक्ष्मीनारायण माध्यमिक विद्यालयका शिक्षक, लीलावतीका श्रीमान् उपेन्द्रनारायण चौधरी, कञ्चनरूप–७ कै लालुदेवी यादव, कञ्चनरूप–५ का जीतु यादव, मुकेश यादव, उदयपुर निवासी उपेन्द्रका बहिनीज्वाइँ र चालकसहित ६ जना घाइते  छन् । गोरखपुर अस्पतालमा उनीहरूको उपचार भइरहेको छ ।