विराटनगर- बझाङको खप्तडछान्ना गाउँपालिका–५ पिठातोलाकी ९६ वर्षीया तुलसीदेवी जोशीलाई शनिबार जिल्ला प्रशासन कार्यालयले घरमै पुगेर नागरिकता प्रदान गरेको छ ।
यो उमेर सम्म पनि उनलाई नागरिकतालगायतका सरकारी कागजातको आवश्यकताबारे जानकारी थिएन । सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीको टोलीले सम्पूर्ण कागजात तयार पार्न लगाइ घरमै पुगेर नागरिकता प्रदान गरिन् ।
उनको जन्म थलारा गाउँपालिका–७ घोडादाउनामा विसं १९८६ साल साउन ११ मा भएको थियो । नागरिकता प्रदान गर्दै सहायक प्रमुख जिल्ला अधिकारीले अनागरिक भएर जीवन बिताइरहेको अवस्थामा जोशी आमालाई भेटेको बताइन् ।
जोशीले सय वर्षको हाराहारीमा पनि नागरिकता नपाएको भन्ने सुन्ने बित्तिकै कागजात तयार गराउन तिर लागेको बताइन् । कागजात तयार हुनासाथ नागरिकता उपलब्ध गराएको उनले बताइन्।
वृद्धावस्थामा पनि उनी कृषिकर्ममा मगन हुन्छिन्।
बाल्यकाल देखिको खेती गर्ने बानीले नछाडेको उनी सुनाउँछिन् । 'घरभित्र बसिरहन मन लाग्दैन,'उनी भन्छिन् ।
उनी गाउँमा अगुवा कृषकको रूपमा चिनिन्छिन् । 'तरकारी, अन्न र तेलबाली लगायतकाे बीउ कतै नपाए गाउँले अझै म कहाँ आउँछन्', तुलसी गर्व गर्दै भन्छिन्।