विराटनगर — वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाइ विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।उनीहरुलाई काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा दोलखा जिरी नगरपालिका–३ घर भइ काठमाडौँ गोकर्णेश्वर–३ बस्ने ३६ वर्षीय जितेन्द्र बस्नेत, उदयपुर उदयपुरगढी गाउँपालिका–६ घर भइ काठमाडौँ–१५ बस्ने ३६ वर्षीय नरेन्द्र बहादुर तामाङ र स्याङ्जा वालिङ नगरपालिका–७ घर भइ काठमाडौँ–२६ बस्ने ५६ वर्षीय नर बहादुर खड्का छन्।
प्रहरीका अनुसार जितेन्द्र बस्नेतले क्रोएसिया पठाइदिन्छु भन्दै एक पीडितबाट ५ लाख रुपैयाँ, नरेन्द्र तामाङले युएई पठाइदिन्छु भन्दै दुई पीडितबाट ३ लाख रुपैयाँ र नर बहादुर खड्काले पोर्चुगल पठाइदिन्छु भन्दै एक पीडितबाट ४ लाख ६५ हजार रुपैयाँ लिइ सम्पर्कविहीन भएका थिए।
पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले जितेन्द्र बस्नेतलाई काठमाडौँ–९ बाट, नरेन्द्र तामाङलाई काठमाडौँ–२२ बाट र नर बहादुर खड्कालाई काठमाडौँ–१२ बाट क्रमशः शुक्रबार र आइतबार पक्राउ गरेको हो।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौँ पठाइएको छ। अर्को एक घटनामा क्रोएसिया पठाइदिन्छु भनेर तीन लाख ७५ हजार ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंको शंखरापुरका राजिन स्याङ्तानलाई पक्राउ गरेको छ । काठमाडौँको बौद्धबाट आइतबार स्याङ्तान पक्राउ परेका हुन् ।
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने घटनाहरू दिनप्रतिदिन बढ्दो क्रममा छन्। आकर्षक तलब र सुविधाको प्रलोभन देखाइ विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिहरू सक्रिय छन्। यस प्रकारका घटनाहरूले वैदेशिक रोजगारीको सपना देख्ने युवालाई मानसिक, आर्थिक र सामाजिक रूपमा प्रभावित पार्ने गरेका छन्।
प्रहरीद्वारा यस्ता व्यक्तिहरूको पक्राउले केही हदसम्म राहत मिल्ने भए पनि दीर्घकालीन समाधानका लागि सरकार र सम्बन्धित निकायहरूले जनचेतना अभिवृद्धि, कडाइका साथ कानुनी कारबाही, र वैदेशिक रोजगार सम्बन्धी प्रक्रियाहरूलाई पारदर्शी बनाउनेतर्फ ध्यान दिन आवश्यक छ।