विराटनगर–  भारतीय जनता पार्टी (भाजपा)ले आफ्नै पार्टीबाट सांसद बनेकी कंगना रनावतलाई नीतिगत मामिलामा नबोल्न निर्देशन दिएको छ ।  उनको हालैको एक विवादित अभिव्यक्तिका कारणले चर्को विवाद सिर्जना गरेपछि पार्टीको आधिकारिक धारणा नभएको भन्दै भाजपाले प्रष्टिकरण दिनु परेको छ ।  

हिमाचल प्रदेशको मन्डी सिटबाट भाजपा सांसद कंगनाले एक पत्रिकालाई दिएको अन्तर्वार्तामा किसान आन्दोलनलाई बंगलादेशको घटनासँग तुलना गरेकी थिइन् । उनले भारतमा चीन र अमेरिकाजस्ता विदेशी शक्तिले काम गर्ने दाबी पनि गरेकी थिइन् । भाजपाले कंगनालाई कडा निर्देशन दिँदै भविष्यमा यस्तो खालको अभिव्यक्ति नदिनु भनेर नसीहत समेत दिएको छ । 

भाजपाको केन्द्रीय मिडिया विभागद्वारा जारी विज्ञप्तिमा भाजपा सांसद रनावतले किसान आन्दोलनको बारेमा बोलेको कुरा पार्टीको विचार नभएको उल्लेख गरिएको छ । बलिउड हस्ती कंगना नीजि विचारका कारण निरन्तर विवादमा हुन्छिन् । लोकसभा चुनाव जितेर पहिलोपटक सांसद बनेकी उनले भर्खरै एउटा पत्रिकालाई अन्तर्वार्तामा भनेृकी थिइन्, ‘हाम्रो शीर्ष नेतृत्व बलियो नभएको भए बंगलादेशमा जे भयो, यहाँ (भारतमा) हुन धेरै समय लाग्ने थिएन ।’ 

कंगनाले बंगलादेशमा भर्खरै भएको आन्दोलन र सत्ता परिवर्तनलाई भारतको किसान आन्दोलनसँग जोड्दै भनिन्,‘यहाँ किसान आन्दोलन भएका थिए, त्यहाँ शव झुण्डिएका थिए, त्यहाँ बलात्कार भइरहेका थिए ।’ ‘कृषकहरूको लामो योजना थियो, बंगलादेशमा जस्तो भयो । त्यस्ता षड्यन्त्रहरू.. किसानहरूलाई के लाग्छ…? चीन, अमेरिका… यहाँ विदेशी शक्तिहरू काम गरिरहेका छन्,’उनले भनेकी थिइन् । 

कंगनाको विचारमा भाजापाले असहमति व्यक्त गरेको छ । ‘पार्टीको तर्फबाट उनलाई न पार्टी नीतिगत मुद्दाहरूमा बोल्ने अनुमति छ, न त अधिकार नै छ,’ भाजपाले भनेको छ । भारतीय जनता पार्टी  ‘सबका साथ, सबका विकास, सबका विश्वास र सबका प्रयास’ र सामाजिक सद्भावको सिद्धान्तलाई अनुसरण गर्न कटिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ ।