विराटनगर– सुडानको खार्तुमको बाहय इलाकाको आवासीय क्षेत्रमा मंगलबार राति सैन्य विमान दुर्घटना हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ । खार्तुमको राज्य सञ्चालित समाचार संस्थाका अनुसार बालबालिका सहित कम्तीमा १० जना घाइते छन् ।
राजधानीको उत्तरपश्चिमको ओमदुरमानमा रहेको सेनाको सबैभन्दा ठूलो सैन्य केन्द्र वादी सेडना एयर बेस नजिकै एन्टोनोभ विमान दुर्घटनाग्रस्त भएको थियो । सन् २०२३ को अप्रिलदेखि अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ)सँग युद्धरत सेनाले उडान भर्ने क्रममा विमान दुर्घटना हुँदा सैनिक र सर्वसाधारणको मृत्यु भएको जानकारी दिइएको छ । सेनाले हताहतीको संख्या भने खुलाउन चाहेका छैन ।
प्रत्यक्षदर्शीहरूले ठूलो विस्फोटको आवाज सुनेको र थुप्रै घरहरू क्षतिग्रस्त भएको देखेको जानकारी दिएका छन् । एएफपीले सैन्य स्रोतलाई उद्धृत गर्दै दिएको जानकारीअनुसार रुसमा निर्मित उक्त विमान प्राविधिक खराबीले दुर्घटनामा परेको हो । सुडानमा २०२३ को अप्रिलदेखि सुरू भएको गृहयुद्धमा हजारौँको ज्यान गएको छ भने १ करोड २० लाख नागरिक विस्थापित भएका छन् ।