विराटनगर– तत्कालिन मुख्यमन्त्री केदार कार्कीले तामझामका साथ सञ्चालनमा ल्याएको ‘शैलजा आचार्य हृदय रोग उपचार केन्द्र’ संघ सरकार मातहत पुर्याउन वर्तमान प्रदेश सरकार न्वानदेखिको बल लगाइरहेको प्रदेश सांसदको आरोप छ ।
प्रदेशसभाको शून्य समयमा आइतबार बोल्दै माओवादी केन्द्रका प्रदेश सांसद गणेश उप्रेतिले प्रदेशले अधिकार नपाएको रोइलो मचिरहेको अवस्थामा आफ्नै मातहतका अस्पताल किन संघमा पठाउन न्वारणको बल लगाइरहेको भन्दै प्रश्न गरेका छन् ।
‘प्रदेशस्थित अस्पतालहरुमा शैय्या र आइसीयू, भेण्टिलेटर अभावमा बिरामी ज्यान गुमाइरहेको अवस्थामा शैलजना आचार्य हृदय रोग उपचार केन्द्रमा ३४ वटा भेण्टिलेर, ४५ वटा आइसीयू र २०० बढी शैय्या प्रयोग विहिन अवस्थामा छ,’ उनले भने, ‘कांग्रेसका मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा सञ्चालित उक्त उपचार केन्द्रको कांग्रेस नेता शेखर कोइरालाले नै उद्घाट गरेको र अहिले केन्द्र र प्रदेशमा कांग्रेस–एमालेको सरकार हुँदाहुँदै पनि यसको जिम्मेवारी लिन कोही तयार छैन । बन्द हुने अवस्थामा पुगेको छ ।’
उपचार केन्द्रलाई एउटा बल पनि बदल्ने अधिकार नरहेको अवस्थामा कसरी चल्न सक्छ भन्दै सांसद उप्रेतीले प्रश्न उठाएका हुन् । उपचार केन्द्रलाई अवैध सन्तानलाई कसैले स्विकार नगर्ने जस्तै अवस्था रहेको उनको भनाइ थियो ।