काठमाडौँ–  सोलुखुम्बुस्थित सगरमाथा क्षेत्रमा बुधबार बिहान ठूलो हिमपहिरो गएको छ । यस हिमपहिरोले सगरमाथा आरोहण मार्गमा क्षति पुर्याएको छ ।

पर्यटन विभागका सूचना अधिकारी लीलाधर अवस्थीका अनुसार बेस क्याम्प र प्रथम क्याम्प बीचको मार्गमा हिमपहिरो गएको हो । यसले चार वटा भर्याङ  र चढ्ने डोरीहरू पुरिएको छ । हिमपहिरोले क्षति पुर्‍याएपछि सगरमाथा चढ्ने कार्य केही दिनका लागि स्थगित गरिएको उनले बताए।

अवस्थीले भने, ‘हामी पर्ख र हेरको अवस्थामा छौं । त्यस क्षेत्रमा अहिले पनि ३५ किलोमिटर प्रतिघन्टाको हावा चलिरहेको छ । सबै कुरा सामान्य भएपछि मात्रै अन्य विषयमा निर्णय लिन्छौं ।’

सामान्यतया सगरमाथा आरोहण सिजनको मध्यमा यस्तो हिमपहिरोले आरोहीहरूको गतिविधिमा बाधा  पुर्याउने गर्दछ । यो  घटनाले आगामी दिनहरूमा सगरमाथा आरोहणमा थप चुनौतीहरू सिर्जना गर्न सक्ने अनुमान गरिएको छ ।