विराटनगर- काठमाडौंको वसन्तपुरमा शुक्रबार बिहान
होलीको चीर ठड्याइएको छ। रंगीविरंगी कपडाहरुको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याउने परम्परा छ ।
योसँगै राजधानी काठमाडौंलगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ । होली पर्वको शुभारम्भ भएको संकेत दिन वसन्तपुरमा चीर ठड्याउने चलन छ ।
हनुमानढोका दरबारको दक्षिण पटांगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट उचाइको तीन खण्डे गजुर जस्तो देखिने चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाइ गरिएको थियो।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले चीर ठड्याउनको लागि शुक्रबार उत्तम साइत रहेको जनाएको थियो । पौराणिक कालदेखि सुरु भएको होलीको धार्मिक, सांस्कृतिक र सामाजिक महत्व छ ।
होली पर्वलाई वसन्त ऋतुको आगमनको स्वागतमा खुशी प्रकट गर्दै रंग, अबिर र पानीसहित मनाउने पर्व हो । धार्मिक ग्रन्थहरुका अनुसार हिरण्यकश्यपुले भगवान विष्णुका भक्त भएकाले छोरा प्रह्लादलाई मार्न बहिनी होलिकाको काखमा बसालेर आगो लगाइदिएका थिए।
आगोले विष्णुका भक्त मार्ने प्रयत्न गर्दा होलिका नै भष्म भएकी थिइन्। आगोले प्रह्लादलाई असर नगरेको धार्मिक विश्वास छ। यो मान्यता अनुरुप होलिकाको मृत्युको विजयोत्सवका रूपमा अबिर लगाएर होली खेल्ने गरिन्छ।