विराटनगर —किरात समुदायले शनिबार काठमाडौँको टुँडिखेलमा साकेला नाचसहित परम्परागत उभौली पर्व भव्य रूपमा मनाएका छन्।किरात समुदायका सदस्यहरूले सांस्कृतिक पहिरनमा सजिएर साकेला नाच प्रस्तुत गर्दै पितृ स्मरण र प्रकृतिपूजाको भावका साथ उभौली पर्व मनाए।
किरात धर्मावलम्बीहरूले प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन उभौली पर्व मनाउने परम्परा छ। यस वर्ष उभौली वैशाख २२ मा परेको थियो।उभौली पर्व वसन्त ऋतुमा मनाइन्छ। यस अवसरमा किरात समुदायले पितृलाई सम्झने, प्रकृतिलाई धन्यवाद दिने, बालीनाली राम्रो होस्, प्राकृतिक विपत्ति नआओस् र सबैमा सुख, शान्ति, सुस्वास्थ्य रहोस् भन्ने कामनाका साथ पूजा गर्ने चलन छ।
यो पर्व साकेला शिली नृत्य गर्दै एक महिना लामो समयसम्म विभिन्न स्थानमा मनाइन्छ। साकेला नाचमा सहभागीहरू चौरीको पुच्छर, सिल्लिमो, पोमी, लिङ्चिबुङ्को डाला, चमर र सिम्कौली सेउली जस्ता सांस्कृतिक सामग्री हातमा बोकेर गोलाकार रूपमा नाच्ने परम्परा छ।किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, सुनुवार सेवा समाजलगायत विभिन्न किरात समुदायका संघ–संस्थाहरूले संयुक्त रूपमा यस पर्वको आयोजना गरेका थिए।
# साकेला# उभौली