विराटनगर– रोजगारीका लागि बहराइन गएका एक श्रमिकको मृत्युपछि हकदारले पाउनुपर्ने बिमा रकम ठगेको आरोपमा मोरङ प्रहरीले एक इन्सुरेन्स कम्पनीका म्यानेजरलाई पक्राउ गरेको छ।मोरङ प्रहरीद्वारा जारी विज्ञप्ति अनुसार पक्राउ पर्नेमा विराटनगर–३ निवासी ३९ वर्षीय सन्तोष अधिकारी छन्। उनी सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी, शाखा कार्यालय बिराटनगरका म्यानेजर हुन्।

मोरङ प्रहरीका अनुसार केराबारी गाउँपालिका–९ देवीझोडाका ३७ वर्षीय नईन्द्र विश्वकर्मा २०८० मा वैदेशिक रोजगारीका लागि पश्चिम एसियाको टापु मुलुक बहराइन गएका थिए। त्यहाँ गम्भीर मृगौला रोग भएपछि उनी स्वदेश फर्किएका थिए । उपचारकै क्रममा उनको मृत्यु भएको थियो।

उनकी पत्नी भीमकुमारी विश्वकर्माले पाउनुपर्ने वैदेशिक रोजगार म्यादी बिमा बापतको १३ लाख रुपैयाँ लिन इन्सुरेन्स कम्पनी पुगेकी थिइन्। तर बिमा प्रक्रिया र कानुनी ज्ञानको अभावको फाइदा उठाउँदै म्यानेजर अधिकारीले विभिन्न कागजातमा सहीछाप गराएर ग्लोबल आईएमई बैंकमा एकल तथा संयुक्त खाता खुलाएर चेकबुकमा समेत हस्ताक्षर गराएका थिए।

बिमा भुक्तानीका क्रममा पीडित पक्षलाई १३ लाखमध्ये केवल ५ लाख ७६ हजार रुपैयाँ मात्र प्राप्त हुने जानकारी भएपछि शंका उत्पन्न भएको थियो। त्यसपछि मृतककी पत्नी भीमकुमारीले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएकी थिइन्। अनुसन्धानका क्रममा सन्तोष अधिकारीले आफ्नो स्वार्थका लागि पीडितको नाममा १५ वर्षे अवधि भएको वार्षिक ७० हजार रुपैयाँको जीवन बिमा गराइ आर्थिक भार सिर्जना गराएको खुलेको प्रहरीले जनाएको छ।

त्यसैगरी मृतकका भदै नाता पर्ने प्रतिक विश्वकर्मा र पहिलो पत्नी मिरा विश्वकर्माको नाममा क्रमशः ५१ हजार र ७० हजार रुपैयाँको बिमा समेत गराई रकम अन्यायपूर्वक प्रयोग गरेको पाइएको छ। अधिकारीले भीमकुमारीको नाममा ६ लाख ४४ हजार १७८ रुपैयाँको ‘फिक्स्ड डिपोजिट’समेत राखिदिएको अनुसन्धानबाट खुलेको छ। यस घटनामा आपराधिक विश्वासघात र ठगी अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।