विराटनगर– असत्यमाथि सत्यको विजयीको प्रतिक हो रंगहरुको पर्व होली । बसन्त ऋतुको आगमनमा मनाउने बसन्तपञ्चमीको अवसरमा सरस्वतीको पूजा अर्चनापछि मुर्ति जलमा सेलाएर जलासयको घाटबाटै होलीको रंग उडाउन सुरु हुन्छ र फाल्गुनको शुक्ल पूर्णिमाका दिन बसन्तोत्सवको रुपमा होली पर्व मनाउने परम्परा छ । होली पर्व अर्थात् बसन्तोत्सव संसारभरि विभिन्न नामले मनाउँदै छन् ।
जलासयको घाटबाट फर्किने क्रममा बाजागाजासहित सुरु हुने होलीको गीत सङ्गीत शुक्लपूर्णमा सम्म चल्छ । गाउँ टोलका अग्रजहरु भेला भएर र घरघरमा पनि सपरिवार भेला भएर होली गीत गाउँदै मनोरञ्जन गर्ने, खुशियाली मनाउने परम्परा चलिआएको छ । हार्मोनियम, ढोलक, मृदंग, झ्याली, डम्फूलगायतका बाजा लिएर होलीको गीत जोगिरा गाउने संस्कृति छ । डम्फू र मृदंग होली पर्वको विशेष बाजा हो ।
होली पर्वमा ठूलाले सानाको निधारमा रंग अबिर लगाइदिएर असत्यमाथि विजयी र सतमार्गमा लाग्ने आशिर्वाद् दिने, सानाले ठूलाको खुट्टामा रंग अबिर राखेर आशिर्वाद थाप्ने र दौतरीले एक अर्काको शरीरमा रंग अबिर दलेर सतमार्गमा लाग्ने शुभकामना आदानप्रदान गर्ने परम्परा छ । सत्रुले भूलवस पनि एकअर्कालाई रंग लगाइदिएपछि सत्रुता मित्रतामा परिणत हुने पर्व होली हो । रंगको पर्व होली समाजिक सदभाव, एकता, मित्रताको पर्व हो ।
होली पर्वको अवसरमा खाने परिका र पोशाक पनि विशेष र छुट्टै छ । यो स्थान विशेषमा फरक फरक पनि हुन्छ । होलीको अवसरमा पुवा, तरुवा, दाल पुरी, भांग, दुधमा सख्खर, फलफूललगायतका सामग्री मिसाएर बनाउने सर्वत विशेष रुपमा खान्छन् । आधुनिकतासँगै खाने परिकारमा मासुका विभिन्न परिकार र रक्सी पनि होली पर्वको खान्कीमा मिसिएको छ । अघाउञ्जेल खाएपछि सेता लुगाका साथै व्यङ्ग्यात्मक पोशाक लगाएर रंग अबिर खेल्दै घुमेर रमाइलो गर्ने चलन छ । फागु पूर्णिमा नजिकिएसँगै संघ, संस्था, राजनीतिक दल, विभिन्न जाति, समुदाय र समाजद्वारा होली मिलन समारोहको आयोजना गर्ने संस्कृतिको समेत सुरुवात भएको छ ।
विष्णुपुराणमा त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले सामथ्र्यको बलमा आफूलाई नै भगवानको स्थापित गराउने मानव जातिलाई अनेक दुःख कष्ट दिइरहेको बेला उनकै छोरा प्रह्लादले विष्णु भगवानको भक्तिमा लिन हुन्छ र आफ्ना पितालाई भगवान मान्न अस्विकार गरेको कथा वर्णित छ । आफ्नै छोरा विद्रोही भएपछि हीरण्यकश्यपुले प्रह्लादको हत्याका लागि अनेक षडयन्त्र गर्दा पनि असफल हुन्छन् ।
त्यसपछि ब्रह्माबाट आगोमा नजल्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई बालक प्रह्लादलाई काखमा राखेर दनदनी बलिरहेको आगोमा बस्न लगाउँछन् । तर त्यो आगोमा होलिका आफैँ जलेर भष्म हुन्छिन् बालक प्रह्लादलाई आगोले कुनै हानी पुग्दैन । किनकी ब्रह्माले होलिकालाई आगोमा नजल्ने वरदान दिएको तर उनले बालक प्रह्लादलाई हानी पुर्याउने मनसायले आगोमा बसेपछि ब्रह्माको वरदान निस्प्रवाभी भएको कथा वर्णित छ ।
यो कथा अनुसार सर्वशक्तिमान र सामथ्र्यवान हीरण्कश्यपुले बालक प्रह्लादको भगवान विष्णुप्रतिको आस्था र विश्वासको सत्यतामाथि कुनै आघात पुर्याउन नसकेको र असत्यमाथि सत्यको जित भएको अवसरमा होली पर्व मनाउने संस्कृतिको प्रादुर्भाव भयो । अर्को तिर नारद पुराण र भविष्य पुराण अनुसार द्वापरयुगमा भगवान श्रीकृष्णलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले विष दलिएको स्तन चुसाउन लाग्दा असफल भएर मृत्यु वरण गरिन् । पुतनाको शवलाई व्रजवासीले जलाएर फागु महोत्सव मनाउने परम्परा चलेको पनि वर्णित छ । वैदिक कालमा समेत यो पर्वलाई ‘नवनेष्टी’ को नामले मनाउने गरिएको साहित्यिक प्रमाण पाइन्छ । यसदिन खेतको आधा पाकेको अन्नलाई हवन गरेर प्रसादको रूपमा वितरण गर्ने चलन छ । त्यो अन्नलाई ‘होला’ भनिन्छ ।
होली पर्वमा लगाइने सात रंगको वैदिक महत्व छ । यसलाई मानवीय गुण, स्वभाव र आचरणसँग जोडिएर परिभाषित गरिएको छ । रातो रंगलाई शुद्धता एवं पवित्रताको प्रतीक मानिन्छ । हरेक धार्मिक कार्यमा यसको प्रयोग हुन्छ । स्वच्छ, सफा र चित्त शुद्धिको प्रतीकका रूपमा लिइने यो रंगलाई साहस र प्रेमको प्रतीकका रूपमा मान्नुका साथै यो रंग मन पराउनेहरू महत्वाकांक्षीका साथै जिज्ञासु एवं जोसिला स्वभावका हुन्छन् ।
हरियो रंगलाई प्राण, जीवनशक्ति एवं मार्मिकताको प्रतीक मानिन्छ । यसलाई जीवनशक्तिको भित्री मर्म बुझ्ने जीवित रंग पनि भनिन्छ । यो रंग मन पराउनेहरू प्रकृतिलाई माया गर्ने र झैझगडा मन नपराउने शान्त स्वभावका हुन्छन् । पहेँलो रंगलाई भक्ति र धर्म परायणताका रूपमा लिइन्छ । यो रंग मन पराउने धर्मकर्मप्रति विश्वास गर्ने, हर्षित, खशी र मिजासिला स्वभावका हुन्छन् ।
नीलो रंगलाई शान्ति र सन्तुलनको प्रतीकका रूपमा लिइन्छ । यो रंग मन पराउनेहरू सन्तुलित विचारधाराका हुन्छन् । कालो रंग ईष्र्या र स्वार्थको प्रतिक भएकोले यो रंग मन पराउनेहरू आफ्ना स्वार्थपूर्तिका लागि योजना गोप्य राख्ने, स्वार्थी, ईष्र्यालु र रिसाहा स्वभावका हुन्छन् । सेतोे रंगलाई शुद्धताको प्रतीक मानिन्छ । कर्ममा विश्वास राख्नेहरू सेतो रंग मन पराउँछन् । चहकिलो सेतो रंगलाई सफा एवं आकर्षणको प्रतीकका रूपमा लिइन्छ । नीलो रंगले मानवता र धैर्यतालाई पनि दर्शाउँछ । पहेलो रंग भगवान श्रीकृष्णको प्रिय रगं हो । शौभाग्यको सुचक रातो रगंको प्रयोग पनि ब्यापक गरिन्छ ।
काठमाडौंको वसन्तपुरमा चीर ठडयाएदेखि सुरु भएर होलिका दहनको दिन समापनसम्म र तराई–मधेशलगायतका ठाउँमा सरस्वती पूजाको विसर्जनदेखि शुक्ल पूर्णिमासम्म मनाउने पर्वको मौलिकता विछट्टैको छ । समाजशास्त्री मुकेश सिंह भन्छन्, ‘होली पर्वमा परिवार, आफन्त, निकटजनलगायत परिचित र अपरिचितसँगको भेट, रंगको साटासाट र स्वादिला परिकारको आनन्द भनेको साझा र सुन्दर पक्ष हो ।’
‘यो पर्वमा आदरणीय एवं प्रियजन साथसाथ रहेर रंग र अबिरको माध्यमबाट खुशी साट्छन्, सारा गुनासो र तिक्तता बिर्सेर अंकमाल गर्दै फागुमा रमाउनुको छुट्टै मजा छ,’ नेपाल औषधि व्यवसायी संघ मोरङका महासचिव अरुण ब्राह्मण भन्छन् ।
यो वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बिहीबार र शुक्रबार मनाइँदै छ । वसन्त ऋतुको आगमनसँगै मेलमिलाप र सद्भावको भावनात्मक बिगुल फुक्दै मनाइने फागु पर्वको उमंग घरदेखि बजार सम्म छ । मारवाडी र मधेसी समुदायको घरघरबाट यतिखेर पारम्परिक गीत र जोगिरा सरर…को मधुर स्वर गुञ्जिरहेको छ ।
हिमाल, पहाड, र तराईमा बसोबास गर्ने जातजातिले आफ्नै शैलीमा होली मनाउने प्रचलन छ । पर्यटकीय क्षेत्रहरु पोखरा, लुक्ला, र जोमसोममा पर्यटक एवं स्थानीयले संयुक्त रूपमा होली खेल्ने चलन बढिरहेको छ । काठमाडौं उपत्यकाका नेवार समुदायको सांस्कृतिक नाचगानसहित रंगहरूको खेल विशेष आकर्षण रहन्छ । पहाडी भेगका ब्राह्मण, क्षेत्री तथा अन्य समुदायले पनि घर आँगन र सार्वजनिक ठाउँमा रंग, अबिर लगाएर उमंगका साथ खुशी आदानप्रदान गर्छन् ।
तराई मधेस क्षेत्रमा विशेषगरी मैथिली, भोजपुरिया, अवधी, र थारू समुदाय होली उत्सवको रुपमा मनाउँछन् । यो पर्वमा मधेसी समुदायको तरुवा, भरुवा र मालपुवाको विशेष महत्व हुन्छ । यहाँ ढोलक, मृदंग, झाँझ र हार्मोनियमसहित परम्परागत लोकगीत गाएर नाचगान गरिन्छ । मधेसका घरघरमा गुजिया, पुवा, दहिबारा, पेडा, खजुरी र ठेवा बनाइन्छ ।
देशको पहाडी भेगमा बिहीबार र तराई मधेसमा शुक्रबार धुमधामका साथ होली मनाइँदै छ । फागुन शुक्ल पक्षको पूर्णिमा तिथिका दिन होलिका दहन गरेसँगै होली मनाउने गरिन्छ । तर तराई मधेसमा भने पूर्णिमाको दिन होलिका दहन गरेको अवसरमा भोलिपल्ट उत्सवको रुपमा होली पर्व मनाउने चलन छ । तत्कालिन राजा पृथ्वीनारायण शाहले मधेसमा मनाउने होली उत्सवको अघिल्लै दिन होली मनाएर भोलीपल्ट भांगको नसामा धुत तिरहुत सेनामाथि विजयी प्राप्त गरेदेखि नेपालमा दुई दिन होली मनाउने परम्परा सुरु भएको इतिहासकारहरुको भनाइ छ ।
काठमाडौंको वसन्तपुरमा साता अगाडि (२३ फागुन) मा रंगीविरंगी कपडाहरुको ध्वजापताकासहितको तीन खण्डे ठड्याइएको चीर रंगले सरोबर जनसमुदायले विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगेर जलाउँछन् । उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारमा प्रयोग हुने मान्यताका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ । शुक्ल पूर्णिमाको अघिल्लो दिन राती बाजागाजाका साथ होलीको गीत गाउँदा गाउँभन्दा टाढा गएर होलिका दहन गर्छन् । होलीका दहनको क्रममा धुवाँ कुन दिशामा गइरहेको छ त्यसले वर्षभरिको समयको अनुकुलता र प्रतिकुलताको वृद्धहरुले आँकलन गर्ने र खरानीको टीका लगाउने चलन छ ।
यीनै कथा, मान्यता र विश्वासमा अडिएको होली पर्वको अवसरमा यतिबेला देशभरिका बजार र पसलमा रङ, पिचकारी र सेतो लुगा सजाइका छन् । किनमेल गर्नेको घुइँचो छ । ‘यो सबै दृश्यले मन रंगमय हुन्छ, इच्छा नहुनेले पनि होली खेल्छन्,’ पोखराकी गंगा लिम्बु भन्छिन् । उल्लासपूर्वक मनाइने यो पर्व हिन्दू धर्मावलम्बीहरूको लागि विशेष भए पनि अहिले विश्वव्यापी रूपमा लोकप्रिय भइसकेको छ ।
जहाँ र जसरी मनाए पनि भावना समान हुन्छ । छिमेकी भारतको उत्तर प्रदेशमा मनाइने ब्रज होली र श्रीकृष्ण र राधासँग जोडिएको मथुरा–वृन्दावनको होली विश्वप्रसिद्ध छ । उत्तर प्रदेशको बरसानाको लठ्ठमार होली हेर्न त विश्वभरिबाट पर्यटकको आगमन हुन्छ । यहाँ महिलाहरूले पुरुषलाई लट्ठीले हिर्काउने अनौठो परम्परा छ । भारतको राजस्थानको जयपुर र उदयपुरमा राजसी परम्पराअनुसार दरबार क्षेत्रमै शाही होली खेलिन्छ । पश्चिम बंगालमा यसलाई डोल जात्रा वा बसन्त उत्सवको रुपमा मनाइन्छ । शान्तिनिकेतनमा रवीन्द्रनाथ ठाकुरले सुरू गरेको होली उत्सव साहित्य, नृत्य र संगीतसँग सम्बन्धित छ ।
पञ्जाबमा होला मोहल्लाको रुपमा सिक्ख समुदायले मनाउँछन् । होलीको अघिल्लो दिन यहाँ मनाइने ‘होला मोहल्ला’ मा युद्धकला प्रदर्शन, घोडसवारी र कवितावाचन गरिन्छ । बंगलादेशमा मुख्यतः हिन्दू समुदायले मन्दिर तथा बस्तीहरूमा मनाउँछन् । पाकिस्तानको कराँची, लाहोर, उमरकोट, थरपारकर, र सिन्धका हिन्दू समुदायले मन्दिर र आफ्ना समाजमा रंगको भरपूर आनन्द लिन्छन् । अचेल मुस्लिम समुदायका युवापुस्ता पनि रमाइलोका लागि होली उत्सवमा सहभागी हुन थालेका छन् ।
इटालीमा ‘बेलियाकोनोन्स’ को नामले मनाइने यो पर्वमा एकापसमा सुगन्धित जल छर्की घाँसको विशेष प्रकारको रङ्गीचङ्गी आभूषण लगाएर खेल्ने गरिन्छ । चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले यो पर्व मनाइन्छ । यस पर्वमा नयाँ लुगा र गहना लगाउने गरिन्छ । अमेरिकामा ‘होबो’ नामले मनाइने यो पर्वमा विभिन्न प्रकारका हास्यात्मक भेषभूषा लगाइ प्रतियोगिताको आयोजना गरी विजयीलाई पुरस्कार दिइन्छ ।
श्रीलंका र इन्डोनेसियामा आगोको पूजा गरेर, म्यान्मार र थाइल्यान्डमा पानीको पूजा गरेर, बौद्ध मन्दिरमा भिक्षुलाई दान दिएर, जापान र इन्डोनेसियामा नयाँ अन्नलाई नाचगानका साथ स्वागत गरेर, चीनको युनानमा डाइनोसियस देवताको पूजा तथा नाचगान गरेर र इजिप्टमा हास्य, विनोद तथा नाचगान गरी यो पर्व मनाइन्छ । गुजरातको अहमदाबादमा नौनीले भरिएको माटाको भाँडा फोड्ने प्रतियोगिता निकै लोकप्रिय छ । मट्का फुटाउने यो प्रतियोगिता अचेल विराटनगरलगायत तराई मधेसमा पनि भित्रिइ सकेको छ ।
अमेरिका, क्यानडा, अष्ट्रेलियाका प्रवासी समुदायहरूले पार्क तथा खुला ठाउँमा भेला भएर रंग खेल्छन् । युरोप, बेलायत, जर्मनी, फ्रान्सका विश्वविद्यालय र प्रवासी समाजमा विशेष कार्यक्रमका साथ रंगको पर्वमा रमाइलो गरिन्छ । दक्षिण अमेरिकी मुलुकहरू गुयाना, त्रिनिडाड टुब्यागो, सुरीनाम, मौरिसस, फिजीमा पुराना भारतीय आप्रवासीहरूले होलीलाई परम्परागत शैलीमा मनाउँछन् । स्पेनको प्रसिद्ध ‘ला टोमाटिना’ महोत्सवलाई होलीसँग तुलना गरिन्छ । सहभागीहरूले एक अर्का माथि टमाटर प्रहार गर्छन् ।
धार्मिक मान्यताबाट अलग्ग रहेर केवल उत्साह अनि सदभावका रुपमा हेरेरै त होला, नेपालीजनहरु चाहे जुनसुकै धर्म या समुदायका हुन्, होलीमा एउटै आँगन र तालमा झुम्मिन्छन् । होली केवल हिन्दूहरूको पर्व होइन, यो अहिले विश्वव्यापी रूपमा मनाइने रंग, उमंग र एकताको उत्सव बनिसकेको छ । संस्कृतिमा विविधता भए पनि यसको मूल भावना सबै ठाउँमा समान छ—खुसी बाँड्ने, सम्बन्ध सुधार्ने र नयाँ सुरुवात गर्ने !