विराटनगर– नेपाल चिकित्सक संघ कोशी शाखाले होली पर्वको पूर्वसन्ध्यामा संघको विराटनगरस्थित कार्यालयमा होली मिलन कार्यक्रम उल्लासपुर्वक मनाएको छ ।
संघका अध्यक्ष डा. राजेन्द्र चौधरीलगायतलाई वरिष्ठ रेडियोलोजिस्ट डा. आनन्दराज आचार्य, डा. यज्ञ राज पाठकसमेतले अबिर लगाएर एकआपसमा सबैले शुभकामना आदानप्रदान गरेका थिए । संघका महासचिव डा. बालकृष्ण साहका अनुसार चिकित्सकहरूको व्यस्ततालाई ध्यानमा राख्दै लचकदार रूपमा आयोजना गरिएको कार्यक्रम साँझ ६ बजेबाट सुरु भएको थियो। चिकित्सकहरू आउँदै, रंग खेल्दै, शुभकामना साटासाट गर्दै फर्किँदै रमाइलो गरेका थिए ।
कार्यक्रममा संघमा आबद्ध चिकित्सकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। पूर्व अध्यक्षहरूसहित ख्यातिप्राप्त चिकित्सकहरू डा. दीपक सिग्देल, डा. प्रकाश काफ्ले, डा. नवीन कुमार कर्ण लगायतका चिकित्सकहरुको सहभागिताले उल्लासमय माहोल बनेको थियो ।
नव गठित कार्यसमितिले सक्रियताका साथ होली मिलन कार्यक्रमलाई निरन्तरता दिएकोमा उपस्थित चिकित्सकहरूले कार्यसमितिका पदाधिकारीहरूलाई बधाई तथा धन्यवाद् ज्ञापन गरे।
रंग, अबिर, हास्य र शुभेच्छाका बीच सम्पन्न यो कार्यक्रमले व्यस्त चिकित्सकहरूलाई रमाइलो र उन्मुक्त बनाउनुका साथै एकआपसमा मजबुत सम्बन्ध बनाएको अनुभूति गराएको चिकित्सकहरुको भनाइ थियो ।