विराटनगर– नक्कली फेसबुक आइडी खोलेर आर्थिक लाभ लिने कार्यमा संलग्न रहेको आरोपमा काठमाडौं तार्केश्वर नगरपालिका–५ लोलाङ हाइट बस्ने धादिङ ज्वालामूखी–७ का २७ वर्षीय नारायणदत्त खकुराललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार खकुरालले वैदेशिक रोजगारीमा रहेकाहरूको नामको नक्कली फेसबुक आईडी बनाउँथे । त्यस पछि उनीहरूको आफन्तसँग आफु र आफ्नो साथी बिरामी भएर अस्पतालमा भर्ना भएकाले रकमको आवश्यकता परेको भन्ने विश्वास दिलाई साथीको क्युआरमा रकम पठाउन भन्थे । उपत्यकाको विभिन्न पसलहरूमा ‘आफ्नो मान्छे बिरामी भइ अस्पतालमा भर्ना भएको र आफन्तले उपचारको लागि रकम पठाइदिँदै छ, आफ्नो कुनै पनि बैंक खाता छैन भनी हजुरको खातामा पैसा आउँछ, सो पैसा राखी मलाई नगद रकम दिनु,’ भनी पसलहरूको क्यूआर कोड पठाई रकम हाल्न लगाउँथे ।
पसलहरूबाट रकम लिइ ठगी गर्ने कार्यमा संलग्न खकुराललाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले बसेकै ठाउँबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।