विराटनगर– अमेरिकाले वाशिङ्टनका लागि दक्षिण अफ्रिकाका राजदूतलाई निष्कासित गर्दैछ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले उनलाई ‘अब हाम्रा महान् देशमा स्वागत छैन’ भनेका छन् ।
रुबियोले सामाजिक सञ्जाल ’एक्स’ मा गरेको पोस्टमा राजदूत इब्राहिम रसुल माथि अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घृणा गर्ने आरोप लगाए । उनले रसुललाई ‘जातीय विभाजन बढाउने राजनीतिज्ञ’ भन्दै लेखे, ‘हामीसँग छलफल गर्न केही छैन ।’ यो दुर्लभ कदमले अमेरिका र दक्षिण अफ्रिकाबीच बढ्दो तनावको संकेत गर्छ ।
बीबीसीले वाशिङ्टन डीसीस्थित दक्षिण अफ्रिकी दूतावाससँग प्रतिक्रिया मागेको छ । शुक्रबार गरिएको पोस्टमा रुबियोले दक्षिणपन्थी सञ्चारमाध्यम ’ब्राइटबार्ट’ को एक लेखलाई उद्धृत गरेका छन्, जसमा रसुलले एक अनलाइन व्याख्यानमा ट्रम्प प्रशासनबारे बोलेका थिए ।
उनले भनेका थिए, ‘डोनाल्ड ट्रम्पले अहिले सत्ता कब्जा गर्नेहरूमाथि आक्रमण गरिरहेका छन्, श्रेष्ठतावादलाई उक्साएर देशभित्र र बाहिर रहेका सत्ताधारीहरूमाथि धावा बोल्दैछन् ।’ उनले थप भने, ‘मेगा आन्दोलन अमेरिकाको जनसांख्यिकीय संरचनामा भएका ठूला परिवर्तनहरूको प्रतिक्रिया हो, जहाँ भविष्यमा मतदान गर्ने जनसंख्या ४८ प्रतिशत मात्र गोरा हुने अनुमान गरिएको छ ।’ यसको प्रतिक्रिया दिँदै रुबियोले रसुललाई ‘अस्वीकार्य व्यक्ति’ भनेका हुन् । रुबियोले यो पोस्ट क्यानडामा विदेशमन्त्रीहरूसँगको बैठकपछि गरे ।
अमेरिका–दक्षिण अफ्रिका सम्बन्ध बिग्रँदै
ट्रम्प सत्तामा आएपछि अमेरिका र दक्षिण अफ्रिकाबीचको सम्बन्ध बिग्रिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले गत महिना कार्यकारी आदेशमा हस्ताक्षर गर्दै दक्षिण अफ्रिकालाई दिँदै आएको सहायता रोक्ने निर्णय गरे । उक्त आदेशमा ‘गम्भीर अन्यायपूर्ण कार्यहरू’ भएको आरोप लगाउँदै श्वेत अफ्रिकीहश्र (डच आप्रवासीका सन्तान) माथि ‘अन्यायपूर्ण जातीय विभेद’ भएको दाबी गरिएको छ।
आदेशमा दक्षिण अफ्रिकाको ‘भूमि कब्जा सम्बन्धी नयाँ कानुन’ लाई पनि उल्लेख गरिएको छ, जसले सरकारलाई निजी जमिन खोस्ने अधिकार दिन्छ । उक्त कानुन विशेषगरी श्वेत अफ्रिकीहरुलाई लक्षित गरिएको अमेरिकी दाबी छ । ‘जबसम्म दक्षिण अफ्रिकाले विश्व मञ्चमा गलत पात्रहरूलाई समर्थन गर्छ र निर्दोष अल्पसंख्यक किसानहरूमाथि हिंसात्मक आक्रमणलाई प्रोत्साहित गर्छ, तबसम्म अमेरिका कुनै सहायता दिने छैन,’ ह्वाइट हाउसको वक्तव्यमा भनिएको छ । तर, दक्षिण अफ्रिकी सरकारले यो कानुन जातीय भेदभावसँग सम्बन्धित नभएको दाबी गरेको छ ।
उच्च तहका राजदूतलाई निष्कासन गर्ने दुर्लभ घटना
अमेरिकाले कहिलेकाहीँ तल्लो तहका कूटनीतिज्ञलाई निष्कासित गर्छ, तर कुनै देशको वरिष्ठ राजदूतलाई निष्कासित गर्नु दुर्लभ हुन्छ । एसोसिएटेड प्रेसका अनुसार, शीतयुद्धको समयमा पनि अमेरिका र रुसबीच यस्तो कदम चालिएको थिएन ।
रसुल सन् २०१० देखि २०१५ सम्म पनि अमेरिका स्थित दक्षिण अफ्रिकी राजदूत थिए । २०२५ मा उनलाई पुनः सोही पदका लागि नियुक्त गरिएको थियो । रसुल केप टाउनमा जन्मेका थिए । जब उनी नौ वर्षका थिए, उनको परिवारलाई जबरजस्ती एउटा अपार्टमेन्टबाट हटाइयो, जुन क्षेत्र गोराहरूका लागि मात्र तोकिएको थियो । यही घटनाले उनलाई राजनीतिमा रुचि बढाउन प्रेरित ग¥यो ।