विराटनगर — कान्तिपुर दैनिकको परिचयपत्रको आडमा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापका पत्रकार टिका प्रसाद भट्ट विरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । यो मुद्दामा भट्ट लगायत रामेछापस्थित सघन सहरी तथा भवन निर्माण आयोजना र मन्थली नगर विकास समितिमा कार्यरत तत्कालीन कर्मचारीसहित ८ जना विरुद्ध मुद्दा चलाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
प्रमुख अभियुक्त सञ्चारकर्मी भट्टमाथि राष्ट्रसेवकको हैसियत लुकाइ विभिन्न सरकारी निकाय, पत्रकारिता, विज्ञापन एजेन्सी र बीमा कम्पनीमार्फत एक करोड १५ लाखभन्दा बढी गैरकानुनी लाभ लिएको आरोप छ। उनले यतिको भ्रष्टाचार कान्तिपुर दैनिकको परिचयपत्रको आडमा गरेको अख्तियारको विस्तृत आरोपपत्रमा उल्लेख छ । यो समाचारसँगैको पीडीएफ फाइलमा पूर्ण विवरण पढ्न सकिन्छ । रामेछापमा निरन्तर सम्मान र पुरस्कार प्राप्त गरिरहने पत्रकारमा भट्ट पर्छन् ।
भट्टले अस्थायी नायब सुब्बाको रुपमा सरकारी सेवा लिइरहँदा कान्तिपुर दैनिकमा पूर्णकालीन पत्रकार, मिडाड नेपालमा विज्ञापन एजेन्ट, सिटिजन्स लाइफ इन्स्योरेन्सका बीमा अभिकर्ता र सहकारीको सञ्चालकको रूपमा काम गर्दै सार्वजनिक सम्पत्तिको दोहोरो दुरुपयोग गरेको अनुसन्धानमा खुलेको छ।
उनले मन्थली नगर विकास समितिमा २०४९ देखि सेवा प्रारम्भ गरेका थिए। तर नगर विकास ऐन २०४५ मा अस्थायी कर्मचारीको व्यवस्था नै नभएको स्पष्ट हुँदाहुँदै उनी अनिश्चितकालीन रुपमा निरन्तर सेवा गर्दै आएका थिए। २०७० मा उनले नायब सुब्बा पदमा पदोन्नति लिएका थिए। तर कानूनी प्रक्रिया अवलम्बन नगरी, आवश्यक योग्यता नपुगी बढुवा लिएको पनि अख्तियारको अनुसन्धानमा देखिएको छ।
अख्तियारका अनुसार भट्टले सरकारी सेवा, पत्रकारिता, विज्ञापन र बीमा व्यवसायबाट २०४९ सालदेखि २०८१ सालसम्म गरि जम्मा १ करोड १५ लाख ४ हजार १ सय ११ रुपैयाँ गैरकानूनी रूपमा आर्जन गरेका छन्।
उनीमाथि कमिशन लिएर भ्रष्टाचार, गैरकानुनी व्यापार व्यवसाय, बदनियतपूर्वक राज्यलाई हानि पुर्याउने कार्य र सार्वजनिक सम्पत्तिको हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा चारवटा छुट्टाछुट्टै अभियोग लगाइएको छ। ती अभियोगअनुसार उनले एक्लैले झण्डै रु १ करोड १५ लाखको बिगो बेहोर्नुपर्नेछ।
भट्टसँग मिलेमतो गरेको अभियोगमा सघन शहरी तथा भवन निर्माण आयोजनाका तत्कालीन कार्यालय प्रमुख अमर बहादुर थापा, नारायण प्रसाद भण्डारी र सुरेश कुमार वाग्ले, लेखा प्रमुख यमलाल बेल्वासे र सुरेश प्रसाद दाहाल पनि अभियुक्त बनाइएका छन्।
यी सबैविरुद्ध अख्तियारले कमिशन लिएको, अनाधिकृत रूपमा लाभ दिलाएको, सार्वजनिक सम्पत्तिमा हिनामिना गरेको आरोप लगाउँदै कुल बिगोमध्ये ३७ लाख रुपैयाँदेखि ४ लाख ७९ हजार रुपैयाँसम्म असुल गरिनुपर्ने मागदाबी दर्ता गरेको छ।
अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले प्रेस विज्ञप्तिमार्फत भनेका छन्, ‘कानुनी व्यवस्था र आचरण विपरीत जिम्मेवार पदमा रहेर राज्यको सम्पत्तिलाई व्यक्तिगत लाभमा रूपान्तरण गर्ने कार्य आपराधिक हो। अनुसन्धानको क्रममा प्राप्त प्रमाणहरूका आधारमा विशेष अदालतमा मुद्दा दायर गरिएको हो।’
#पत्रकार #टिका #प्रसाद# भट्ट