काठमाडौँ — हाल देशभर पश्चिमी वायु, स्थानीय वायु तथा बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असरले सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य भूभागहरूमा सामान्य बदली कायम छ।
कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाको अनुमान छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको जनाइएको छ।
यही मौसमी अवस्था रातिसम्म जारी रहनेछ। चट्याङ्गसहित वर्षाको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।