विराटनगर — देशका केही भूभागमा आज मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागका अनुसार दिउँसो पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भागहरूमा मौसम मुख्यतः सफादेखि आंशिक बदली रहने अनुमान गरिएको छ।
‘पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ,’ विभागले जारी गरेको बुलेटिनमा उल्लेख छ।यस्तै, हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावनासमेत रहेको छ।
राति पनि पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने विभागले जनाएको छ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।हाल देशमा पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रिएको विभागले जनाएको छ, जसको आंशिक प्रभाव अहिलेको मौसमी अवस्था देखिएको हो।