विराटनगर – माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा चिट चोराउने र परीक्षामा अनियमितता गर्न सहयोग गर्ने दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटले नियन्त्रणमा लिएकाहरूलाई आवश्यक कानुनी कारबाही अघि बढाइएको जनाएको छ।

प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपककुमार रायका अनुसार, रौतहटको यमुनामाई माध्यमिक विद्यालय परीक्षा केन्द्रमा परीक्षार्थीबाट रकम लिएर मोबाइल भित्र्याउने परीक्षा नियन्त्रकलाई पक्राउ गरिएको छ। साथै लक्ष्मिनिया मावि मौलापुर परीक्षा केन्द्रमा चिट पुर्याउने कार्यमा संलग्न एक व्यक्तिलाई समेत नियन्त्रणमा लिइएको छ।

प्रहरीले पक्राउ परेकाहरूको नाम गोप्य राखिएको जनाएको छ। उनीहरूविरुद्ध अदालतबाट अनुमति लिएर थप अनुसन्धान भइरहेको छ। एसईई परीक्षाको पहिलो दिनमै मधेस प्रदेशका विभिन्न जिल्लाहरू – विशेष गरी रौतहट र धनुषामा  परीक्षाको मर्यादा भङ्ग भएको भिडियो र तस्वीरहरू सार्वजनिक भएका छन् ।  अनलाइन सामाजिक सञ्जालमा भाइरल भएका तस्बिरहरूमा परीक्षार्थीहरूलाई खुलमखुला चिट चोराइएको देख्न सकिन्छ।

शिक्षा क्षेत्रका विज्ञहरू र अभिभावकहरूले यस्ता घटनाले सम्पूर्ण परीक्षा प्रणालीमाथि नै गम्भीर प्रश्न उठाउने बताएका छन्। परीक्षाको विश्वसनीयता कायम गर्न कडा निगरानी, पारदर्शिता, र आधुनिक सुरक्षा उपायहरू अवलम्बन गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । यसप्रकारको घटनाले सम्पूर्ण शिक्षा प्रणालीमाथि असर पार्न सक्ने भएकाले, सरकारले परीक्षाको निष्पक्षता कायम गर्न थप कडाइ अपनाउनु आवश्यक देखिन्छ।