विराटनगर — वैदेशिक रोजगारीका नाममा पोल्याण्ड, बुल्गेरिया, युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा चार जना काठमाडौँ उपत्यकाबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा काठमाडौँ टोखा–५ बस्ने दैलेखको भगवतीमाई–१ का ३५ वर्षीय हिक्मत कुमार थापा, काठमाडौँ–२९ बस्ने बाराको आदर्श कोतवाल–८ का ३० वर्षीय जिक्रुल्लाह मिया, टोखा–३ बस्ने नुवाकोट म्यागङ–१ का ५४ वर्षीय न्याउरे तामाङ र काठमाडौँ–३० बस्ने ताप्लेजुङको सिदिङ्वा–६का ३५ वर्षीय जिवन कडरीया रहेका छन्।

पोल्याण्ड र बुल्गेरिया प्रलोभनमा ठगी
हिक्मत कुमार थापाले पोल्याण्ड पठाइदिने प्रलोभनमा एक जना पीडितबाट २ लाख १० हजार रुपैयाँ लिएका थिए भने जिक्रुल्लाह मियाले बुल्गेरिया पठाइदिने भन्दै अर्को पीडितबाट ९ लाख रुपैयाँ लिएका थिए। रकम लिएपछि उनीहरू सम्पर्कबिहीन भएको भन्दै पीडितहरूले उजुरी दिएका थिए।

युएई र दक्षिण कोरिया प्रलोभनमा ठगी

त्यस्तै न्याउरे तामाङले युएई पठाइदिने भन्दै दुई जना पीडितबाट २ लाख ६९ हजार रुपैयाँ र जिवन कडरीयाले दक्षिण कोरिया पठाइदिने भन्दै तीन जना पीडितबाट ३ लाख २० हजार रुपैयाँ असुली सम्पर्कविहीन भएका थिए।

उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयुबाट खटिएको टोलीले क्रमशः टोखा, ललितपुर र काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो।पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।