काठमाडौं – परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारत नेपालमा लोकतान्त्रिक प्रणालीको पक्षमा रहेको बताएकी छन्। भारतीय भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएकी मन्त्री राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भारतीय पक्ष हालको व्यवस्थाविरुद्ध नरहेको स्पष्ट पारिन्।
'उहाँहरूले नेपालमा लोकतन्त्र नै चाहेका छन्,' नेपालमा राजावादी गतिविधि बढिरहेको सन्दर्भ उल्लेख गर्दै उनले भनिन्, 'अहिलेको सरकारसँग भारतीय पक्ष निरन्तर संवादमा छ। सरकार वा व्यवस्था परिवर्तन गर्ने कुनै संकेत मैले देखिनँ।'
राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता नभएको समेत प्रष्ट पारिन्। 'त्यसका लागि पहल पनि गरिएको थिएन,' उनले भनिन्।
उनले सामाजिक सञ्जाल 'एक्स' मा दिल्ली भ्रमणका क्रममा नेपालमा जारी विद्युत् अभाव समाधान गर्न भारतसँग आपूर्ति बढाउने विषयमा छलफल भएको जानकारी दिएकी छन्।
'यसमा विद्यमान द्विपक्षीय सम्झौता र भारतीय ऊर्जा एक्सचेन्ज (आईईएक्स) मार्फत नेपाललाई लामो अवधिसम्म दैनिक रूपमा विद्युत् आपूर्ति बढाउने विषय समेटिएको थियो,' उनले लेखेकी छन्।
नेपालमा बढ्दो ऊर्जा संकटलाई मध्यनजर गर्दै भारतसँग गरिएको यस कूटनीतिक पहलले नेपाललाई दीर्घकालीन रूपमा ऊर्जा आपूर्तिमा राहत दिने अपेक्षा गरिएको छ।