विराटनगर – प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशमा एकैदिन ६४ वटा सडक आयोजना डिजिटलरूपमा शिलान्यास गर्दै अब देशमा ‘रकेटको चाल’ मा विकास अघि बढ्ने दाबी गरेका छन्।
जनकपुरधामस्थित निधि भवनबाट आइतबार मधेस प्रदेशका आठवटै जिल्लामा सञ्चालित ‘एक निर्वाचन क्षेत्र, एक सडक (दोस्रो चरण)’ योजनाअन्तर्गत ३ सय २० किलोमिटर सडकको डिजिटल शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले विकासको लहर मधेससम्म तीव्र गतिमा फैलिने दाबी गरे।
‘मैले आज शिलान्यास गरेको सडक निर्माणको कार्य सबैको प्रयासबाट गुणस्तरीय रूपमा सम्पन्न भइ प्रदेशको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको छु,’ प्रधानमन्त्री ओलीले उद्घाटन समारोहमा भने, ‘यो राम–जानकी–पर्शुरामको भूमि हो, देवी–देवताको भूमि हो। इतिहास बोकेको यो जागरुक प्रदेश अब तीव्र गतिमा विकासको मार्गमा अघि बढ्नेछ।’
प्रधानमन्त्री ओलीले सुशासनलाई विकासको पहिलो सर्त भन्दै अरुको मुख ताक्नुभन्दा आफैंबाट सुशासन कायम गर्नुपर्नेमा जोड दिए। उनले मधेसलाई प्राचीन सभ्यता र ज्ञानको केन्द्रका रूपमा चित्रण गर्दै पछौटेपनका कारण कृत्रिम रहेको बताए।
‘१० हजारभन्दा बढी घरबिहीनलाई आवास दिइएको छ, आकस्मिक समस्याहरूलाई सम्बोधन गरिएको छ। बाटाहरू चौडा हुँदै छन्, जनकपुरमा रेल आएको छ,’ प्रधानमन्त्रीले भने, ‘अब जनकपुर–बर्दिबास रेल विस्तार गरिनेछ। जनकपुरको रेल घाटामा नजाओस् भनेर तालिमको व्यवस्था तुरुन्त सुरु गर्छौं।’
दोस्रो चरणको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ योजना
मधेस प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले सञ्चालनमा ल्याएको योजनाअनुसार प्रत्येक निर्वाचन क्षेत्रमा पाँच–पाँच किलोमिटरका सडक निर्माण गरिनेछ। ६४ निर्वाचन क्षेत्रमा गरिने सडक निर्माणको कुल लम्बाइ ३ सय २० किलोमिटर हुने छ।
भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवका अनुसार योजना बहुवर्षीय खरिद गुरुयोजनाअनुसार तीन आर्थिक वर्षमा सम्पन्न गरिनेछ। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिसकेपछि शिलान्यास गरिएको जानकारी उनले दिए।
यस सडक आयोजनामा कुल १२ अर्ब ७० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। मन्त्रालयका अनुसार विश्व बैंकको सहयोगमा सञ्चालनमा रहेको प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत १ सय ९८ किलोमिटर कालोपत्रे सडक, ३ सय २६ किलोमिटर बृहत मर्मत र एक हजार किलोमिटर सडकको नियमित मर्मतसम्भार गरिनेछ।मन्त्री यादवका अनुसार प्रादेशिक सडक सञ्जाल गुरुयोजनाअन्तर्गत सञ्चालनमा आएको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमको यो दोस्रो चरण हो।
#६४ #वटा #सडक