विराटनगर– आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बैशाख १९ मा प्रतिनिधि सभामा प्रस्तुत हुने भएको छ । सिंहदरबारमा सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरूबीच बुधबार भएको छलफलपछि प्रतिनिधि सभा क्यालेन्डरको मस्यौदा तय गरिएको हो।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार नीति तथा कार्यक्रम पेश गर्ने मिति तय हुनुका साथै विद्यालय शिक्षा विधेयकलाई सदनमा पेस भएलगत्तै पारित गर्ने सहमति पनि जुटेको छ । ‘वैशाख १२ मा बस्ने पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको छ,’ बर्तौलाले भने । छलफलमा सार्वजनिक बिदाबाहेक शनिबारसमेत संसद बैठक सञ्चालन गर्ने प्रस्ताव गरिएको थियो ।
सभामुख घिमिरेले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण नियमित बैठक आवश्यक रहेको तर्क प्रस्तुत गरे । उनले विद्यालय शिक्षा विधेयक सदनमा आएपछि प्राथमिकताका साथ छलफल र पारित प्रक्रियामा लैजानुपर्नेमा जोड दिए । बैठकले सभामुखको प्रस्ताव अनुमोदन गरेको छ ।
कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार सोही मस्यौदा कार्यव्यवस्था परामर्श समितिको बैठकमा बैशाख १२ मा पेश गरिनेछ । उनले विद्यालय शिक्षा विधेयक प्रतिवेदन उपसमितिले बैशाख २३ भित्र बुझाउने प्रतिबद्धता जनाएकाले त्यसलाई पनि प्राथमिकताका साथ अघि बढाइने बताए ।