विराटनगर– के तयाइँ प्रेस चौतारी नेपालको केन्द्रीय कार्यसमिति वा केन्द्रीय आयोग सदस्य बन्न चाहनु हुन्छ ? यदी चाहनु हुन्छ भने दैनिक २० रुपैयाँको जोहो गर्नुहोस् । तपाइँ केन्द्रीय कार्यसमिति वा केन्द्रीय आयोग सदस्य बन्नु हुन्छ भने दैनिक २० रुपैयाँ तिर्नै पर्छ । प्रेस चौतारीले केन्द्रीय सदस्य र केन्द्रीय आयोग सदस्यलाई दैनिक २० रुपैयाँ लेवी तिर्नुपर्ने निर्णय गरेको छ । उक्त निर्णय अनुसार तीन वर्षको जोडेर अहिले विराटनगरमा आइतबारबाट जारी १० औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रत्येक केन्द्रीय सदस्यसँग एकमुष्ट २३ हजार ९ सय असुली रहेको छ । केन्द्रीय कार्यसमितिको लेवी वापत २१ हजार ९ सय र महाधिवेशनमा सहभागी भए वापत थप २ हजार असुली गरेको छ । जसले कतिपय केन्द्रीय सदस्य र आयोग सदस्य महाधिवेशन सहभागी पनि भएनन् । 

उक्त लेवी झन भ्रष्टाचार मौलाउने र निम्न वर्गको केन्द्रीय कार्यसमितिमा पहुँच नहुने भन्दै चौतर्फी विरोध भइरहेको छ । प्रेस चौताीमा केन्द्रीय कार्य समिति र केन्द्रीय आयोग सदस्य गरी कूल २२१ जना रहने व्यवस्था छ । 

प्रेस चौतारीको महाधिवेशनमा सहभागी भएका केन्द्रीय कार्यसमिति र केन्द्रीय आयोग सदस्यका लागि २३ हजार ९ सय, अन्य पार्टी निकटबाट आएका केन्द्रीय प्रतिनिधिलाई ७ हजार ३ सय र जिल्ला प्रतिनिधिको २ हजार शुल्क गरिरहेको छ । महाधिवेशनमा कूल ९ सय २३ प्रतिनिधि सहभागी छन् । 

महंगो प्रेस चौतारी महाधिवेशनमा नेतृत्व पक्षले सर्वसम्मत रुपमा गणेश पाण्डेको नेतृत्वमा प्रेस चौतारीको नयाँ नेतृत्व चयन गर्ने दाउमा छन् भने बहुमत प्रतिनिधि मतदान प्रक्रियाबाट राजेश राईलाई प्रेस चौतारीको अध्यक्षमा निर्वाचित गराउन दवाव बढाइरहेका छन् । राजेश राई प्यानललाई कमजोर बनाउन र दवावमा पार्न  गणेश बस्नेतले १०९ जना प्रतिनिधि मनोनित गरेपछि विवादसमेत चुलिएको छ । 

आइतबारबाट सुरु भएको महाधिवेशन तीन दिनसम्म चल्नेछ । यो महाधिवेशनले प्रेस चौतारीको नयाँ नेतृत्व चयन गर्छ । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रेस चौतारीको नयाँ नेतृत्व सर्वसम्मत चयनका लागि निर्देशन दिए पनि निर्वाचन प्रक्रियाबाट मात्रै नेतृत्व चयन हुने अवस्था देखिएको छ । 

प्रेस चौतारीको नयाँ नेतृत्वका लागि ओलीको अर्थात् संस्थापन पक्षबाट गणेश पाण्डेलाई अघि सारिएको छ भने इत्तर पक्षबाट चौतारीको वर्तमान उपाध्यक्ष राजे राईलाई अघि सारिएको हो । दुबै जनाले आ–आफ्ना प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् । उनीहरुले महाधिवेशनमा आएका प्रतिनिधिहरुसँग भोट पनि माग्न थालेका हुन् ।