काठमाडौं– सहकारी तथा लघुवित्त पीडितहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

विभिन्न सहकारी संस्था, लघुवित्त, बैंक तथा मिटरब्याजीको ठगीबाट पीडित भएका बचतकर्ताहरू न्यायको माग गर्दै माइतीघर मण्डलाबाट बिजुलीबजारसम्म जुलुससहित प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनकारीहरूले ‘सहकारीमा बेथिति मच्चाउन पाइँदैन, वित्तीय माफियाहरू चाहिँदैनन्, जनपक्षीय मौद्रिक नीति कायम गर’ जस्ता नारा लगाएका थिए ।

उनीहरूले सहकारी तथा लघुवित्त क्षेत्रमा व्याप्त अनियमितता हटाउन सरकारलाई दबाब दिएका छन् । प्रदर्शनमा सहभागीहरूले आफ्ना बचत सुरक्षित गर्न कानुनी व्यवस्था कडा बनाउन, ठगिएका रकम साँवा–ब्याज सहित फिर्ता गराउन तथा दोषीहरूलाई कारबाही गर्न माग गरेका छन् ।

हाल थुप्रै सहकारी संस्थाहरू धराशायी भएका छन् भने हजारौं सर्वसाधारणको बचत जोखिममा परेको छ । सरकारले यसअघि सहकारी अनुगमनलाई कडा पार्ने घोषणा गरे पनि पीडितहरूले ठोस कार्यान्वयन नभएको आरोप लगाउँदै आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।