विराटनगर– अफ्रिकी मुलुकका युवाका लागि स्वास्थ्य संकट बनेको लागू औषध ट्रामाडोलको भारी परिमाण सहित नेपालमा पनि दुई जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
भारत सरकारले हालै यसको उत्पादन र निर्यातमा प्रतिबन्ध लगाइसकेको छ । लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले ट्रामाडोलको ५ लाख ६४ हजार १ सय ट्याब्लेट सहित उनीहरुलाई पक्राउ गरेको हो । औषधी जन्य मनोद्दिपक पदार्थविरुद्द व्यूरोले संचालन गर्दै आएको विशेष प्रहरी कारवारहीको क्रममा यो सफलता पाएको हो ।
पक्राउ पर्नेहरूमा पर्साका ३८ वर्षीय साईमन बनवारी र ललितपुर महांकाल गाउँपालिका–४ का ३३ वर्षीय सुधिर लामिछाने भएको प्रहरीले जनाएको छ । साईमनलाई ट्रामाडोलको ५ लाख ३४ हजार १ सय ट्याब्लेट सहित काठमाडौँ–४ टोखाबाट शुक्रबार र सुधिरलाई ३० हजार ट्याब्लेट सहित काठमाडौं महानगरपालिका–१४ बाट बिहीबार पक्राउ गरिएको हो । उनीहरू विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।