विराटनगर– कांग्रेस नेता शेखर कोइरालाले काठमाडौंमा भएको राजावादी आन्दोलनको घटनाका विषयमा निष्पक्ष छानविन गर्न सरकारले ढिलाइ गर्न नहुने बताएका छन् । मोरङको बुढीगंगा गाउँपालिकाले आयोजना गरेको पार्क सिलान्यास कार्यक्रममा बिहीबार कोइरालाले जनतामा सरकारप्रति विश्वास जगाउनका लागि पनि तत्काल निष्पक्ष छानविन समिति गठन गरेर छिटो भन्दाछिटो छानविन सुरु गर्नुपर्ने बताएका हुन् ।
शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई भएको भन्दै कोइरालाले कुनैपनि किसिमको हिंसा, आतंक, तोडफोड, आगजनीहरु नेपाली कांग्रेसलाई स्विकार्य नहुने बताएका छन् । ‘काठमाडौंमा घटेको घटनाको सरकारले ढिलाइ नगरी तत्काल निष्पक्ष छानविन समिति बनाएर जति छिटो छानविन अगाडि बढाउन सक्छौँ त्यति विश्वास बढ्दै जान्छ,’ उनले भने, ‘जनतालाई विश्वास दिलाउन सक्नु पर्छ कि हामीले गर्छौं भनेर । किनकी जनतामा राजनीतिज्ञले विश्वास गुमाइ सकेको छ ।’
राजनीतिक दलहरुपनि सुध्रिनु पर्ने कोइरालाको भनाइ थियो । ‘अहिलेका २०–२२ वर्षका केटाकेटीहरु राज्यको शासन व्यवस्थासित सन्तुष्ट छैन,’ उनले भने, ‘हामीले के दियौँ त उनीहरुलाई भन्दा हामीले उनीहरुलाई धेरै कुरा दिन सकेका छैनौँ । सुशासन दिन सकेका छैनौँ, भ्रष्टाचारलाई कम गर्न सकेका छैनौँ, अझै बढ्दै छ । दण्डहिनता अझै बढ्दै छ । दुई वटा दल मिलेर संविधान संशोधन गर्ने कुरा गर्यौँ, आर्थिक विकासका कुरा गर्यौं, रोजगारी सिर्जना गर्छौं, भन्यौँ, सुशासन दिन्छौँ भन्यौँ तर त्यो बाटोमा जति छिटो हिड्न, दौडिनु पर्ने थियो त्यति छिटो दौडिन सकेका छैनौँ ।’
काठमाडौंमा भएकाो राजावादी आन्दोलनका क्रममा घरमा भएको आगजनीमा परेर पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको छ भने सविन महर्जनको प्रहरीको गोली लागेर मृत्यु भएको छ । राजवादीको हिंसात्मक आन्दोलनले घर, पसल, डिर्पाटमेण्टल स्टोरहरुमा लुटपाट, तोडफोड आगजनीसमेत हुँदा ठूलो धनजनको क्षति भएको छ ।
जनता राजनीतिज्ञप्रति विश्वस्त हुन नसकेको विद्यमान अवस्थामा राजनीतिक दल र सरकार सुध्रिदै जनतामा विश्वास जगाउन सक्नु पर्ने कोइरालाको भनाइ थियो ।