काठमाडौँ– सरकारले यथास्थितिमा बोलाएको वार्तामा नजाने शिक्षक महासंघले अडान राखेको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बिहीबार बसेको बैठकले शुक्रबार वार्तामा आउन शिक्षक महासंघसँग अनुरोध गरेको थियो ।

सरकारी टोली शिक्षकलाई कुरेर शुक्रबार सिंहदरबारमा बसेको थियो । तर आफ्नो पक्ष प्रष्ट पार्दै महासंघ वार्तामा गएन ।  शिक्षक महासंघ नगएपछि दोस्रो पटक सरकारले वार्तामा बोलाएको हो ।

‘हामी फेरि वार्तामा जादैनौ । वार्ताले समाधान दिँदैन । समाधान नदिने वार्तामा जानु भनेको समय नष्ट गर्नु हो । मन्त्री, प्रमुख सचेतकलगायतलाई वार्तामा दिने समय सिन निर्माणमा दिनुहोस् भनेका छौं’, महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सञ्चारकर्मीहरुसँग भने ।

अध्यक्ष सुवेदीले समाधानका लागि तीन विकल्प सुझाएका छन् । ‘सरकारले अध्यादेशबाट निकास दिन सक्छ् । अर्को बर्खे अधिवेशन तत्काल बोलाएर प्रक्रिया अगाडि बढाउन सक्छ । विशेष अधिवेशन पनि आह्वान गरेर ऐन जारी गर्न सक्छ’, उनले भने, ‘यसपटक परिणाम नलिइ नफर्किने हो । सदन बोलाउन लगाएर भए पनि ऐन लिएर फर्किने हो ।’

ऐन बन्ने स्थिति भएमा ऐनभित्रको विषयवस्तुमा छलफल गर्न भने सकिने उनले प्रष्ट बोलेका छन् । २०८० असोज ५ मा सहमति भइसकेकाले फेरि वार्ताको औचित्य नरहेको महासंघको निष्कर्ष छ । सहमति कार्यान्वयन नभएको भन्दै विगत २ महिनादेखि महासंघले चरणबद्ध आन्दोलन गरिरहेको छ । अहिले २० चैतदेखि देशभरका शिक्षक काठमाडौँमा छन् । काठमाडौमा दैनिक विरोध प्रदर्शन गरिरहेका छन् ।