विराटनगर– कोशी प्रदेश खेलकुद विकास बोर्डले विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय खेलकुद दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । बोर्डले आइतबार विराटनगरमा र्यालीसहित विभिन्न कार्यक्रमको आयोजना गर्दै अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाएको हो ।
विराटनगरस्थित सहिद रंगशालाबाट सुरु भएको र्याली हस्पिटलचोक , जलजला चोक, गोल्छा चोकहुँदै बोर्डको कार्यालयमा पुगेर समापन भएको थियो ।
बोर्डको कार्यालयमा र्याली समापन पछिको शुभकामना आदानप्रदान कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले नवौँ राष्ट्रिय खेलकुदमा प्रदेशले हासिल गरेको नतिजाभन्दा उत्कृष्ट नतिजा ल्याउनेगरी १०औँ खेलकुदको तयारीमा जुटेन निर्देशन दिएका छन्। राईले हालै सम्पन्न कोशी प्रदेश खेलकुद महोत्सव पनि राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीको एक हिस्सा भएको र अझै सशक्त तयारी गरेर उत्कृष्ट प्रदर्शन गर्ने तयारीका लागि निर्देशन दिएका हुन् ।
बोर्डका सदस्यसचिव कृष्ण बस्नेतले दशौँ राष्ट्रिय खेलकुदको तयारीस्वरूप बोर्डले विभिन्न प्रतियोगिताहरू आयोजना गरिरहेको जानकारी दिए ।
‘खेलाडीले खेलेरै जीवन निर्वाह गर्न सक्छन् भन्ने कुरालाई स्थापित गर्नका लागि निरन्तर रूपमा खेल गतिविधि गरिरहेका छौं,’ बस्नेतले भने , ‘खेलकुद महोत्सवले अरू प्रदेशलाई पनि सकारात्मक सन्देश दिएको छ ।’
त्यस्तै , सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दामोदर फुयाँलले खेलकुद चलायमान बनाउन बोर्ड सक्रियताका साथ अगाडि बढिरहेको भन्दै सराहना गरे ।