विराटनगर — नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पार्टीको ७६ औँ स्थापना दिवसमा कम्युनिस्ट आन्दोलनमा उल्लेखनीय योगदान दिने सात व्यक्तित्वलाई सम्मान गर्ने निर्णय गरेको छ । पार्टी सचिवालयको सोमबारको बैठकले झापा आन्दोलनदेखि देशका विभिन्न भूगोल र पृष्ठभूमिबाट कम्युनिस्ट आन्दोलनमा समर्पित व्यक्तिहरूलाई सम्मान गर्ने निर्णय गरेको हो ।
सम्मानित हुनेमा झापाका हरिचरण सिवाकोटी, कञ्चनपुरका लालबहादुर विश्वकर्मा, दाङका शोभारम बस्नेत, गोरखाका वाचस्पति देवकोटा, काठमाडौंकी शान्ता मानवी र सप्तरीका सत्यनारायण मण्डल छन् । यस्तै जाजरकोटका रत्न शर्मा न्यौपानेलाई मरणोपरान्त सम्मान गरिनेछ ।
एमालेका वरिष्ठ नेता प्रदीप ज्ञवालीका अनुसार उनीहरूलाई आगामी ९ वैशाखमा औपचारिक कार्यक्रममार्फत सम्मान गरिनेछ । पार्टीले यो सम्मानलाई कम्युनिस्ट आन्दोलनमा समर्पित अग्रजहरूप्रति कृतज्ञता प्रकट गर्ने अवसरका रूपमा लिएको जनाएको छ ।