प्रमुख बुँदाहरू  :

कोशी प्रदेशमा भारी वर्षाको सम्भावना
उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने
चट्याङ र मेघगर्जनसहित वर्षाको सम्भावना
कृषि र यातायातमा असरको चेतावनी

काठमाडौँ — हाल नेपालमा स्थानीय वायु प्रणालीको प्रभावसँगै बंगालको खाडी र भारतको उत्तर प्रदेश आसपासको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव सक्रिय रहेको छ । यसले गर्दा आज देशभरको मौसममा उल्लेखनीय परिवर्तन देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली र कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशको केही भागमा हल्का वर्षा भइरहेको छ ।

मौसमी चेतावनी : आज विशेषगरी कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरुले जनाएका छन् । साथै देशभरका पहाडी र केही तराई क्षेत्रहरूमा पनि मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ । उच्च पहाडी तथा हिमाली भूभागहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

जनजीवनमा सम्भावित असर : यो मौसमी अवस्थाले कृषि, दैनिक जनजीवन, सडक यातायात, स्वास्थ्य सेवा र आन्तरिक हवाई उडानहरूमा उल्लेखनीय असर पार्न सक्छ । विशेषगरी पूर्वी नेपालका पहाडी तथा हिमाली क्षेत्रका स्थानीयवासी, यात्रुहरू र किसानहरूलाई सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

सतर्कता अपनाउन आग्रह : महाशाखाले चट्याङ, पहिरो, बाढी, र हावाहुरीबाट बच्न आवश्यक सुरक्षात्मक उपायहरू अवलम्बन गर्न आग्रह गरेको छ । चट्याङबाट जोगिन विद्युतीय उपकरण नछुने, ठूलो रूख वा बिजुलीको पोल नजिक नबस्ने तथा यात्रा गर्नुअघि मौसम अपडेट हेर्न सुझाइएको छ ।