इटहरी–सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोशी नदीमा नुहाउने क्रममा सोमबार बिहान मामा र भान्जा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा इटहरी उपमहानगरपालिका–१६ बालग्रामका ४८ वर्षीय नवराज बास्तोला र उनका भान्जा १६ वर्षीय जेनिस आचार्य रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उनीहरू सोमबार बराहक्षेत्र मन्दिर नजिकै सप्तकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् । प्रहरी प्रवक्ता डिएसपी योगराज खतिवडाका अनुसार नदीको तीव्र बहावले जेनिसलाई बगाएपछि उनलाई बचाउने प्रयासमा मामा नवराज पनि नदीमा फसेर बेपत्ता भएका हुन् ।
घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा खोज तथा उद्धार कार्य सुरु गरेका छन् । हालसम्म दुवै जना फेला नपरेको डिएसपी खतिवडाले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले बराहक्षेत्र मन्दिर व्यवस्थापन समितिलाई स्नान क्षेत्रको व्यवस्थापन गर्न निर्देशन दिएको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र नेतृत्वको जिल्ला सुरक्षा समितिले घटनास्थलमा पुगेर निरीक्षण गरेको थियो। अनुगमनपछि प्रजिअ मिश्रले स्नान क्षेत्रको व्यवस्थापन अपर्याप्त देखिएको भन्दै दुई दिनभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिए ।
'मन्दिर समितिले सावधानीका उपायहरूमा चित्त बुझ्दो कार्य नगरेको देखियो,' मिश्रले भने, 'दुई दिनभित्र सन्तोषजनक जवाफ नआएमा जिल्ला सुरक्षा समितिले आवश्यक निर्णय लिनेछ।'