विराटनगर– नेपाल टेलिकमको नाफा चालु आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा ४८.६ प्रतिशतले घटेको छ। साउनदेखि चैतसम्मको ९ महिनाको अवधिमा कम्पनीले २ अर्ब ८४ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यो नाफा अघिल्लो वर्षको सोही अवधिमा ५ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ थियो। नाफामा आएको तीव्र गिरावटको मुख्य कारण कम्पनीको ब्याज आम्दानीमा आएको गिरावट र स्थिर आय हो ।ठूलो रकम बैंकमा निक्षेप गरेर ब्याज आम्दानी गर्ने टेलिकमले अघिल्लो वर्ष ५ अर्ब १९ करोड रुपैयाँ ब्याज आम्दानी गरेकोमा यस वर्ष २ अर्ब ८० करोड ३५ लाख रुपैयाँमा झरेको छ। यो ४६ प्रतिशतको गिरावट हो।

ग्राहक सेवाबाट हुने आम्दानी भने लगभग स्थिर देखिएको छ। अघिल्लो वर्ष २५ अर्ब ४८ करोड रुपैयाँ संकलन गरिएकोमा यस वर्ष २५ अर्ब ३१ करोड रुपैयाँ संकलन भएको छ।

ब्याज आम्दानी घटेसँगै टेलिकमको कुल आम्दानी पनि घटेको छ। गत वर्ष ३१ अर्ब २० करोड रुपैयाँ आम्दानी भएकोमा हाल २८ अर्ब ४३ करोड रुपैयाँमा झरेको छ।

नाफा घटेसँगै कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेर २१ रुपैयाँ ५ पैसामा सीमित भएको छ, जुन अघिल्लो वर्ष ४१ रुपैयाँ थियो।

१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको नेपाल टेलिकमको जगेडा कोषमा हाल ७२ अर्ब ७० करोड रुपैयाँ सञ्चित छ। कम्पनीको प्रतिसेयर नेटवर्थ ५०३ रुपैयाँ ९३ पैसा रहेको छ। यसैबीच, आइतबार बजार बन्द हुँदा टेलिकमको सेयर मूल्य प्रतिकित्ता ८७० रुपैयाँ रहेको थियो।
 

#नेपाल #टेलिकम