काठमाडौँ– नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तसँग औपचारिक भेटका लागि गएको नेपाल शिक्षक महासंघको टोली सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय नपुगी नै फर्किएको छ । शिक्षामन्त्री पन्तले आन्दोलनरत शिक्षकहरूलाई आजै वार्ताका लागि बोलाएका थिए । सोही अनुरूप महासंघको टोली मन्त्रीसँग भेट गर्न मन्त्रालयतर्फ गएको भए पनि अनपेक्षित रूपमा बीचबाटै फर्किएको हो ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जालमार्फत टोली फर्कनुको जानकारी दिँदै लेखेका छन्, ‘आज मिति २०८२ साल वैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौं । तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं ।’
उनले फर्किनुको स्पष्ट कारण खुलाएका छैनन् । सुवेदीले सिंहदरबार प्रवेशका लागि मन्त्रालयबाट सार्वजनिक गरिएको २५ सदस्यीय टोलीको नामावलीप्रति समेत अनभिज्ञता जनाएका छन् । उक्त नामावली महासंघले तयार नगरेको दाबी गरिएको छ । उनले मन्त्रालयले समन्वयविना सूची सार्वजनिक गरिएको संकेत गरेका छन् । पन्तले भने महासंघसँग वार्ताका लागि आफू पर्खिरहेको बताएका छन्।