विराटनगर– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसभित्रको सरकारप्रति बढ्दो असन्तुष्टिले अवस्था गम्भीर रहेको बताएका छन् । विराटनगरमा पत्रकारसँगको कुराकानीमा आइतबार अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको क्रियाकलापका कारण पनि यो सरकार हट्नुपर्ने बताएका हुन् । 

‘राजनीतिक विश्लेषणका आधारमा ठूला दलको नेता प्रधानमन्त्री हुनुपर्ने हो त्यसैको आधारमा कांग्रेसलाई सरकार गठनमा निःशर्त समर्थन गर्ने भनेका छौं,’ उनले भने, ‘कांग्रेसभित्र सरकारप्रति बढ्दै गएको असन्तुष्टिले स्थिति गम्भीर छ र यो सरकारको नेतृत्वको क्रियाकलापका कारण पनि हट्नुपर्छ ।’

अध्यक्ष दाहालले पूर्वउपराष्ट्रिपति नन्दबहादुर पुनलाई पार्टीमा काम गर्न संवैधानिक, राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय परम्परालगायत केहीले पनि नरोक्ने जिकिर गरेका छन् । ‘उपराष्ट्रिपति ज्यूले आफैले पार्टीको सिपाहीको रुपमा काम गर्ने भनिकसेपछि केही कुराले रोक्दैन,’ उनले भने, ‘राष्ट्रपति, उपराष्ट्रिपति भइसकेका व्यक्ति निष्पक्ष हुनुपर्ने विषयको केही अर्थ छैन, मुख्यतः काम राम्रो ढंगले हुनुपर्यो, गणतन्त्र सुदृढ हुँदै जानुपर्यो, राष्ट्रपति, उपराष्ट्रिपति पद मात्रै बचाएर गणतन्त्र बच्ने होइन, नामले बच्ने होइन, कामले गणतन्त्र बच्ने हो ।’

शान्ति प्रक्रियाको विषयमा छलफलका लागि शनिबार मुख्य तीन दलको बैठक रहेकोमा उठ्ने बेलामा प्रधानमन्त्री ज्यूले गणतन्त्रको कुरो राख्नु भएको तर त्यसमा दलहरुबीच कहिले पनि विमति थिएन र अहिले पनि नभएको अध्यक्ष दाहालले स्पष्ट पारेका हुन् । ‘अहिले नै गणतन्त्रप्रति ठूलो खतरा आयो भनेर सोच्नुपर्ने जरुरी छैन,’ उनले भने, ‘गणतन्त्रका लागि राजनीतिक दलहरु एकजुट हुनुपर्ने भाष्य नै ठीक होइन । गणतन्त्रको विषयमा त्यसैपनि हामी एक छौँ ।’