विराटनगर– पोखरा–१४ अनुपम टोलस्थित घरमा शंकास्पद गतिविधी भइरहेको कास्की प्रहरीलाई सूचना आयो । उक्त क्षेत्रबाट पहिले पनि जुवातास खेल्ने पक्राउ परिरहने हुनाले त्यही सोचले प्रहरी टोली त्यहाँ पुग्यो । तर त्यहाँ पुग्दा विद्युतीय संयन्त्रयुक्त कोठामा प्रहरीले जे देख्यो, त्यसले चकित बनायो ।
त्यहाँ अभौतिक मुद्रा प्रयोग तथा जुवा खेल्ने वा सट्टाबाजी गर्ने अपराधका आधुनिक स्वरुपको गिरोह फेला पयो । प्रहरीले पाँच जनालाई ३१ वटा मोबाइल, दुई कम्प्युटर मनिटर , तीन सीपीयू , चार ल्याप्टप, एक आई प्याड, दुई किवोर्ड, एक माउस, चार राउटर , तीन पेनड्राईभ, एक हार्डडिक्स, ११ चार्जर र नगद ७२ हजार ५ सय रूपैयाँ सहित पक्राउ गर्यो । उनीहरूले हालसम्म ३० करोड रूपैयाँ बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
अभौतिक मुद्रा प्रयोग तथा जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा प्रहरीले कास्कीको पोखरा–१४ बस्ने पर्वत जलजला–३ का ३१ वर्षीय रूपेन्द्र जिसी, म्याग्दी बेनी–५ का ३३ वर्षीय विक्रम बानियाँ, बेनी नगरपालिका–२ का २२ वर्षीय सज्जन घिमिरे, म्याग्दी रघुगंगा–२ का १९ वर्षीय रोजन केसी र २८ वर्षीय सन्दिप कटुवाललाई पक्राउ गरेको छ । उनीहरु विरुद्ध आइतबार कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद लिइ प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पक्राउ मध्ये रुपेन्द्र आईटी इन्जिनियरमा पीएचडी गर्दैै छन् । उनी १० वर्ष अमेरिका बसेर एक महिना अघिमात्रै छुट्टीमा आएका हुन् । बानियाँको पोखराको चिप्लेढुंगामा फेन्सी पसल छ । केसी र घिमिरे ब्याचलर चौथो वर्षमा अध्ययनरत छन् । कटुवाल एक कन्सल्टेन्सीका संचालक हुन । बानियाँ र घिमिरे रुपेन्द्रको फुपुका छोरा, केसी रुपेन्द्रको सानी आमाको छोरा र कटुवाल रुपेन्द्रको बहिनीज्वाइँ हुन् ।