काठमाडौँ — सत्तारुढ दलका शीर्ष नेताहरू र नेपाल शिक्षक महासंघका पदाधिकारीबीच सोमबार साँझ भएको वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको छ। करिब तीन घण्टा लामो छलफलमा महासंघले उठाएका मागहरू सम्बोधन गर्ने विषयमा सरकार सकारात्मक रूपमा प्रस्तुत भएपछि २७ दिनदेखि जारी शिक्षक आन्दोलन टुंगिने सम्भावना देखिएको हो।
वार्तामा सहभागी एक नेताका अनुसार तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले तयार पारेको सात बुँदे प्रस्तावलाई आधार मानेर सहमति जुटाउने प्रयास भइरहेको छ। कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको निवासमा बसेको उक्त बैठक लगत्तै राति मन्त्रिपरिषद् बैठकसमेत सुरु भएको थियो।
बैठकमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षामन्त्री रघुजी पन्त, एमाले महासचिव शंकर पोखरेल, कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहभागी थिए। शिक्षक महासंघतर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहित तीन जना प्रतिनिधि वार्तामा सहभागी भएका थिए।
यसैबीच बैठक लगतै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आन्दोलनरत शिक्षकहरूको माग बुधबारसम्म सम्बोधन हुने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै उनले आन्दोलनरत शिक्षकहरूलाई विद्यालय फर्काउन अनुकूल वातावरण बन्ने बताए।
गत चैत २० देखि विद्यालय शिक्षा विधेयक जारीलगायतका माग राख्दै देशभरका शिक्षकहरू काठमाडौँ केन्द्रित सडक आन्दोलनमा छन्। सरकार र शिक्षकबीच पटकपटक छलफल भए पनि हालसम्म माग सम्बोधन हुन सकेको छैन। शिक्षक महासंघले नयाँ विद्यालय शिक्षा विधेयक जारी नभएसम्म आन्दोलन नरोक्ने अडान लिँदै आएको छ।