काठमाडौँ–  लामो समयदेखि आन्दोलनरत शिक्षकहरू र सरकारबीच आज (बुधबार) फेरि वार्ता हुने भएको छ। मंगलबार राति सिंहदरबारमा भएको छलफल सकारात्मक रहेको दुवै पक्षको भनाइले आजको वार्ताबाट सहमति हुने उच्च सम्भावना देखिएको छ।

सरकारसँग वार्ता गर्नुअघि आन्दोलनरत शिक्षक पक्षले बिहान ९ बजे आन्तरिक बैठक बोलाएको छ। उक्त बैठकपछि दिउँसो २ बजे शिक्षामन्त्री रघुजी पन्त र नेपाल शिक्षक महासंघका पदाधिकारीबीच संवाद हुनेछ।

महासंघका महासचिव तुलाबहादुर थापाले बुधबारको बैठक निर्णायक हुने विश्वास व्यक्त गर्दै हस्ताक्षरपछि आन्दोलनको स्वरूप परिवर्तन हुने बताएका छन्। नयाँ स्वरूपबारे निर्णय महासंघको आन्तरिक बैठकले गर्नेछ।

नेपाल शिक्षक महासंघले सरकारले प्रस्तुत गरेको प्रस्तावमा नौ बुँदे माग पेस गरेको छ। ती मागहरूमध्ये प्रमुखमा विद्यालय कर्मचारी तथा बाल विकास केन्द्र (ईसीडी) शिक्षकको तलब सुनिश्चितता, सामाजिक सुरक्षा कोषमा समावेश, दुर्गम भत्ता, ग्रेड समायोजन, मर्यादा क्रम, उपचारमा छुट र तलब संरचनामा एकरूपता ल्याउने विषयहरू छन्।

शिक्षकहरूले ती माग पूरा गर्न दबाब दिँदै चैत २० देखि चरणबद्ध आन्दोलन गर्दै आएका छन्।