काठमाडौँ – हाल देशभर पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असरले विशेषगरी देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहँदा बाँकी क्षेत्रमा मौसम सफादेखि आंशिक बदली भएको छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने पहाडी भूभागका थोरै स्थान र बाँकी क्षेत्रका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै देशका हिमाली क्षेत्रका थोरै स्थानहरूमा हिमपातको सम्भावना पनि रहेको छ।

त्यसैगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागहरूमा हल्का वर्षासँगै हिमपात हुने अनुमान गरिएको छ।

महाशाखाले कोशी, बागमती, गण्डकी लगायत देशका पहाडी भागका थोरै स्थानहरूमा तथा बाँकी क्षेत्रका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना औँल्याउँदै दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

थप अपडेटका लागि तपाईं मौसम पूर्वानुमान महाशाखाको आधिकारिक सूचना हेर्न सक्नुहुन्छ।