विराटनगर– विद्यार्थी भिसाको प्रक्रियामा बैंक स्टेटमेन्ट देखाउनुपर्ने बहाना बनाइ ६१ लाख रुपैयाँ ठगेको आरोपमा दुई युवकलाई काठमाडौँको सुन्धाराबाट प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपा–२ का २० वर्षीय विशाल घिमिरे र रौतहटको गरुडा–४ का १८ वर्षीय प्रिन्स कुमार  छन् ।

प्रहरीका अनुसार उनीहरूले अमेरिका जान विद्यार्थी भिसा प्रक्रियामा एक दिनका लागि बैंक खातामा ६१ लाख रुपैयाँ देखाउनुपर्ने भन्दै पीडितलाई प्रलोभनमा पारी उक्त रकम आफ्नो खातामा पठाउन लगाएका थिए। रकम प्राप्त गरेपछि उनीहरूले सम्पूर्ण रकम विभिन्न व्यक्तिहरूको खातामा रकमान्तर गरी सम्पर्कविहीन भएका थिए ।

पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। हाल उनीहरूलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाइएको छ ।