काठमाडौँ– नेपाल विद्युत् प्राधिकरण (नेविप्र) ले आफ्नो हालसम्मको उपलब्धि, वर्तमान अवस्था र आगामी रणनीतिहरू समेटिएको श्वेतपत्र सार्वजनिक गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितमान शाक्यले बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत श्वेतपत्र सार्वजनिक गरेका हुन्।
श्वेतपत्रमा प्राधिकरणले विद्युत् उत्पादन, प्रसारण, वितरण तथा वित्तीय सुधारका क्षेत्रमा हासिल गरेको प्रगति उल्लेख गरिएको छ। साथै हाल देखिएका संरचनागत चुनौती, आन्तरिक कमजोरी र उदीयमान सम्भावनाको विश्लेषण पनि समेटिएको छ।
कार्यकारी निर्देशक शाक्यका अनुसार भावी नीति तथा योजना निर्माणका लागि स्पष्ट दिशानिर्देश तय गर्न श्वेतपत्र जारी गरिएको हो। उनले प्राधिकरणलाई थप पारदर्शी, सक्षम र उपभोक्तामैत्री बनाउन प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
श्वेतपत्रमा केन्द्रीय ग्रिडको सुदृढीकरण, विद्युत् निर्यातको सम्भावना विस्तार, निजी क्षेत्रको सहभागिता अभिवृद्धि र नवीकरणीय ऊर्जाको प्रवद्र्धनलगायत विषय प्राथमिकतामा राखिएको उल्लेख छ ।