विराटनगर- एमएम कप फाउण्डेशनले आयाेजना गरेकाे तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिताकाे उपाधि नेपाल पुलिस क्लबले जितेकाे छ । विराटनगरस्थित गिरीजाप्रसाद काेइराला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेफमा साविक विजेता त्रिभुवन आर्मी क्लबलाई २४ रनले पराजित गर्दै नेपाल पुलिस क्लवले उपाधि हात पारेको हाे ।

मनमाेहन कप क्रिकेटकाे लगातार तेस्राे पटक फाइनलमा पुगेको पुलिसको यो पहिलो जित हो । यसअघि दुई पटक फाइनलमा आर्मीसँग पराजित पुलिसले उपाधि जित्दै आर्मीको ह्याट्रिक यात्रामा विराम लगाइदिएकाे छ । जितसँगै पुलिसले नगद ४ लाख र ट्रफि हात पारेकाे छ भने उपविजेता आर्मीले नगद २ लाख र ट्रफिमा चित बुझाएको छ ।

टस हारेर ब्याटिङ गरेको पुलिसले निर्धारि ५० ओभरमा सबै विकेट गुमाई २ सय ३९ रनकाे योगफल तयार पारेको थियो । पुलिसकालागि अरुण ऐरी र कप्तान शंकर रानाले अर्धसतकीय पारी खेले । ऐरीले ६४ रन र रानाले ५१ रनकाे याेगदान दिएका थिए । श्रवण यादवले ३२ रन बनाउँदा दिपक डुम्रेले ३६ रनको याेगदान गरे । आर्मीका नरेन साउद, दुर्गेश गुप्ता र तुलबहादुर थापाले समान २–२ विकेट लिए ।

 

पुलिसले दिएको २ सय ४० रनको लक्ष्य पछ्याएको आर्मीले ४८ ओभरमा सबै विकेट गुमाउँदै २ सय १५ रनमा सिमित भएर खेलकाे उपविजेता भए । आर्मीका विकेट किपर हिमान्शु दत्तले अर्धशतकी पारी खेल्दा पनि आर्मीलाई जित दिलाउन सकेनन् । दत्तले ६३ रन बनाउँदा निश्चल क्षेत्रीले ३६ रन, इमरान शेखले २४ रन, नरेन राउदले २१ रन, जितेन्दू सिंह ठकुरीले २० रन र विशाल सुस्लिङले १८ रनको योदान दिए । पुलिसका प्लेयर अफ द फाइनल विजेता श्रवण यादवले ४ विकेट लिँदा चित्र विष्टले २ विकेट लिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी आर्मीका नरेन साउद भए । उनले नगद २५ हजार र ट्रफि हात पारे । त्यस्तै उत्कृष्ट ब्याटर पुलिसका शंकर राना र उत्कृष्ट बलर कोशीका प्रेम कामत घोषित भए । उनीहरुले जनही नगद १५–१५ हजार र ट्रफि हात पारे ।

बैशाख १३ गतेदेखि भएको प्रतियोगितामा भारतको असाम क्रिकेट टिम, घरेलु टिम कोशी प्रदेश, बागमती प्रदेश, विभागीय टोली नेपाल पुलिस क्लब, आर्मी क्लब र सशस्त्र प्रहरी क्लबकाे सहभागी रहेकाे थियाे ।

विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, क्यानका केन्द्रीय उपाध्यक्ष रोशन सिंह, नेपाली क्रिकेट टिमका पूर्व प्रशिक्षक जगत टमाटा,जिल्ला खेलकुद समिति मोरङका अध्यक्ष सुरज श्रेष्ठ, आयोजक संस्थाका अध्यक्ष विप्लव घोष, कोशी क्रिकेट सँघका अध्यक्ष सर्वजितराज पाण्डे र मोरङ क्रिकेट संघका अध्यक्ष माेहम्मद सादबाबु कुरेसीलगायतले पुरस्कार तथा ट्रफी वितरण गरे ।