विराटनगर — मुस्ताङमा सन् २०२५ का पहिलो चार महिनामा ५१ हजार ८९६ जना विदेशी पर्यटकले भ्रमण गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम कार्यालयका अनुसार यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३६.६६ प्रतिशतले बढी हो।

होटल व्यवसायी सुरज गुरुङका अनुसार मुस्ताङमा बढी संख्यामा भारतीय पर्यटक आउँछन्। हिन्दू तथा बौद्धमार्गीहरूको साझा तीर्थस्थल मुक्तिनाथ मन्दिरको दर्शनका लागि भारतका विभिन्न स्थानबाट पर्यटक आउने गरेको उनले बताए।

एक्याप जोमसोमका प्रमुख राजेश गुप्ताका अनुसार सन् २०२५ को जनवरीदेखि अप्रिलसम्म मुस्ताङ भित्रिएका कुल विदेशी पर्यटकमध्ये ८३ प्रतिशत सार्क राष्ट्रका थिए भने बाँकी १७ प्रतिशत अन्य देशबाट आएका थिए। चार महिनाको अवधिमा सार्क राष्ट्रबाट ४३ हजार १५१ र अन्य राष्ट्रबाट आठ हजार ७४५ पर्यटक मुस्ताङ पुगेका हुन्।

महिनावार आगमन हेर्दा जनवरीमा ४,३४६, फेब्रुअरीमा ५,३३०, मार्चमा १९,०९५ र अप्रिलमा २३,१५२ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए। सन् २०२४ को पहिलो चार महिनामा ३७,९७४ पर्यटक पुगेका थिए।

मुक्तिनाथ मन्दिरसँगै उपल्लो मुस्ताङको कोरलानाका, छोसेर गुफा, लोमान्थाङ दरबार, निफुक गुम्बा, लोघेकर गुम्बा, चराङ गुम्बा, लुरी गुम्बा, दामोदरकुण्ड, चिउसी गुफा, मुस्ताङ गेट, नुन खानी, कागबेनीधाम, ढुम्बाताल, जोमसोम बजार, मार्फा गाउँ, सेकुङ ताल र टिटी ताललगायत गन्तव्यले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरिरहेका छन्।