विराटनगर– भारत र पाकिस्तानबीच शनिबार बेलुकी ५ बजेदेखि युद्धविराम लागु भए पनि त्यसपछि पनि पाकिस्तानले गोलीबारी जारी राखेको भारतीय पक्षको आरोप छ।
जम्मु–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले सामाजिक सञ्जाल एक्समा एक भिडियो पोस्ट गर्दै श्रीनगरमा अझै विस्फोटको आवाज आइरहेको बताएका छन्। उनले लेखेका छन्, ‘यो कस्तो युद्धविराम हो? श्रीनगरमा अझै विस्फोटको आवाज सुनिँदैछ।’
भारतीय सञ्चार माध्यमहरूले युद्धविरामपछि पनि पाकिस्तानतर्फबाट जम्मु–कश्मीरका अखनूर, पुंछ, नौशेरा, श्रीनगर, आरएसपुरा, सांबा र उधमपुर क्षेत्रमा गोलीबारी भइरहेकै दाबी गरेका छन्।भारत–पाकिस्तानबीच औपचारिक रूपमा युद्धविराम घोषणा भएको तीन घण्टामै पाकिस्तानले उल्लंघन गर्दै जम्मु–कश्मीरका विभिन्न क्षेत्रमा ड्रोन आक्रमण र गोला बम प्रहार गरेको छ।राजौरी क्षेत्रमा तोप र मोर्टारसमेत प्रहार गरिएको पुष्टि भएको छ भने उधमपुरमा ड्रोन आक्रमण भएको उल्लेख गरिएको छ।
श्रीनगरमा विस्फोटको आवाज सुनेपछि स्थानीयवासी त्रसित बनेका छन्। सायरन बजाइएको र सुरक्षाकर्मीहरू सतर्क अवस्थामा परिचालित गरिएको बताइएको छ।
अलजजिराका स्थानीय संवाददाताहरूका अनुसार भारत प्रशासित कश्मीरको राजधानी श्रीनगरमा स्थानीय बासिन्दाहरूले सहरभरि ठूलो आवाजमा अनेकौँ विस्फोटहरू सुनिएको पुष्टि गरेका छन्।केही क्षेत्रमा विद्युत् आपूर्ति समेत अवरुद्ध भएको जनाइएको छ।
यता पाकिस्तानका परराष्ट्रमन्त्री इशाक डारले चिनियाँ समकक्षी वाङ यीसँग टेलिफोन वार्ता गरेका छन्। पाकिस्तानको परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल एक्समा जारी गरेको वक्तव्यअनुसार चीनका वरिष्ठ कूटनीतिज्ञ वाङ यीले चुनौतीपूर्ण परिस्थितिमा पाकिस्तानले देखाएको संयमता र जिम्मेवार व्यवहारको प्रशंसा गरेका छन्।वक्तव्यमा वाङले बेइजिङले पाकिस्तानको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वतन्त्रताको संरक्षणमा दृढ समर्थन गर्ने विश्वास पनि दोहोर्याएको उल्लेख छ।