विराटनगर– भारत र पाकिस्तानले शनिबार साँझ घोषित पूर्ण युद्धविराम सम्झौतापछि केही घण्टामै एकअर्कामाथि उल्लंघनको आरोप लगाएका छन्। सहमतिको केही समयपछि श्रीनगर, कच्छ र अन्य सीमावर्ती क्षेत्रमा विस्फोटका आवाज सुन्निएको रिपोर्ट आएको छ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले शनिबार राति राष्ट्रलाई सम्बोधन गर्दै यस सम्झौतालाई पाकिस्तानको ऐतिहासिक विजय भनी उल्लेख गरे। उनले पाकिस्तानी सेना र सशस्त्र बललाई बधाई दिँदै मस्जिदहरू ध्वस्त पारिएको र निर्दोष नागरिकको ज्यान गएको दाबी गरे।

शरीफले आफ्नो सम्बोधनमा अमेरिका, बेलायत र चीनप्रति विशेष आभार प्रकट गर्दै भने, ‘यस कूटनीतिक सफलतामा तिनीहरूको महत्वपूर्ण भूमिका रहेको छ।’ उनले कश्मीर, जल बाँडफाँड लगायतका विवादित मुद्दाहरू वार्तामार्फत समाधान गर्न सकिने विश्वास पनि व्यक्त गरे।

भारतले शरीफको सम्बोधनमा आधिकारिक प्रतिक्रिया दिएको छैन। तर शनिबार राति भारतीय परराष्ट्र सचिव विक्रम मिस्रीले पत्रकार सम्मेलन गर्दै पाकिस्तानले युद्धविरामको गम्भीर उल्लंघन गरिरहेको दाबी गरे। ‘सीमा अतिक्रमण अत्यन्त निन्दनीय छ र भारत यसको जवाफ दिइरहेको छ,’ उनले भने।

श्रीनगरका मुख्यमन्त्री उमर अब्दुल्लाहले पनि ‘एक्स’ मा पोस्ट गर्दै ‘संघर्षविरामको के भयो?’ भन्दै विस्फोटको आवाज सुन्निएको जनाएका छन्। गुजरातका गृहराज्यमन्त्री हर्ष सङ्घवीले कच्छ क्षेत्रमा धेरै ड्रोन देखिएको भन्दै ब्ल्याकआउटको घोषणा गरे।

बीबीसीका श्रीनगरस्थित पत्रकारहरूले पनि विस्फोटको आवाज पुष्टि गरेका छन्, यद्यपि घटनास्थल पुष्टि हुन बाँकी छ।युद्धविराममा संलग्नता जनाएका राष्ट्रहरू अमेरिका, बेलायत र संयुक्त राष्ट्रसंघले दुवै देशलाई संयमता अपनाउन आग्रह गरेका छन्। अमेरिकी विदेश मन्त्री मार्को रुबियोका अनुसार ४८ घण्टे वार्ता पछि युद्धविराम सम्भव भएको हो।हालको तनाव अप्रिल २२ मा भारत–प्रशासित कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि सुरु भएको हो, जसमा २५ जना भारतीय र एक जना नेपाली पर्यटकको मृत्यु भएको थियो।

त्यसको प्रतिशोधस्वरूप भारतले पाकिस्तान र पाकिस्तान–प्रशासित कश्मीरमा ड्रोन, मिसाइल र तोपद्वारा आक्रमण गरेको थियो। पाकिस्तानले हमलामा आफ्नो संलग्नता अस्वीकार गरेको छ।यसैबीच दुवै पक्षबाट हवाई आक्रमण, गोलीबारी र सैन्य उपस्थितिबीच युद्धविराम सम्झौता सार्वजनिक भयो तर सहमति कार्यान्वयनमा गम्भीर शंका उत्पन्न हुँदै गएको छ।