विराटनगर– भ्रष्टाचारमा मुछिएकी बंगलादेशकी बलर ३६ वर्षीया सोहेली अख्तरलाई आईसीसीले पाँच वर्षका लागि सबै खाले क्रिकेट खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । उनले आईसीसीको भ्रष्टाचार विरोधी संहिताको उल्लंघन गरेको स्वीकार गरेपछि यो कडा निर्णय लिइएको हो । 

अख्तरले सन् २०२३ मा दक्षिण अफ्रिकामा सम्पन्न महिला टी–२० विश्वकपमा एक बंगलादेशी खेलाडीलाई हिट विकेट आउट हुन १३ हजार पाउन्ड (१६ हजार डलर) को प्रस्ताव गरेकी थिइन् । ती खेलाडीले अख्तरका बारेमा रिपोर्ट गरेकी थिइन् । 

बंगलादेश क्रिकेट बोर्डका निर्देशक तथा महिला विभाग प्रमुख नजमुल आबेदिन फहिमले यस्तो गतिविधिमा शून्य सहनशीलताको नीति अपनाउँदै यो खेलका सबै तहमा फिक्सिङ रोक्न प्रयासरत रहेको बताइन् । उनले अख्तरको कार्यलाई ‘दुर्भाग्यपूर्ण’ बताएकी छन् ।