विराटनगर — हुण्डीमार्फत अवैध वित्तीय कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूबाट ४२ लाख १० हजार रुपैयाँ बरामद गरिएको छ।पक्राउ पर्नेहरुमा काठमाडौँ महानगरपालिका–३२ बस्ने खोटाङ बराहपोखरी गाउँपालिका–२ का २३ वर्षीय विजय कुमार राई र रामेछाप मन्थली नगरपालिका–६ निवासी २८ वर्षीय खेटराज श्रेष्ठ रहेका छन्।
काठमाडौँ–२२ स्थित न्युरोड क्षेत्र आसपास हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमां उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत उनीहरूले गैरकानुनी रूपमा रकम ओसारपसार गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।प्रहरीका अनुसार उनीहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ।