विराटनगर — सरकारले दक्षिण कोरियामा अध्ययनका लागि जाने विद्यार्थीहरूलाई दिइँदै आएको वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) हाललाई स्थगित गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार सूचना जारी गर्दै अध्ययनको नाममा कमाइको लक्ष्यसहित जाने प्रवृत्तिका कारण विद्यार्थीहरू मानसिक समस्यामा फसिरहेको उल्लेख गर्दै तत्कालका लागि एनओसी नदिने निर्णय भएको जानकारी दिएको हो।
सूचनामा भनिएको छ, ‘कमाइको अपेक्षामा पढाइमा निरन्तरता नहुनु, आम्दानी गर्न नसक्दा मानसिक दबाबमा परिनु, कोरियाले कालो सूचीमा राखेका शिक्षालयहरूमा समेत विद्यार्थी पठाइनुजस्ता समस्याका कारण हाललाई एनओसी स्थगित गरिएको छ।’
कोरियामा डी–टू (शैक्षिक) र डी–फोर (प्रशिक्षण) श्रेणीको भिसामा जाने विद्यार्थीलाई यो निर्णयले प्रभाव पार्नेछ। मन्त्रालयका अनुसार कोरियातर्फ अध्ययन जाने प्रक्रिया व्यवस्थित गर्न कार्यदल गठन गरिएको छ। कार्यदलले अध्ययन गरी प्रतिवेदन पेस गरेपछि त्यसकै आधारमा आगामी निर्णय गरिने सूचनामा उल्लेख छ।
#एनओसी