विराटनगर– हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा दुईटा हिमताल फुटेपछिको बाढीले स्थानीयलाई त्रिपालमा बस्न बाध्य बनाएको छ। वडाध्यक्ष पाल्जोर तामाङका अनुसार थाक्रा क्षेत्रमा जेठ १ मा फुटेको हिमतालको असरले हालसम्म पनि लेदो बगिरहेको छ।
आइतबार मात्रै ५ सदस्यीय टोलीले घटनास्थल पुगेर दुईवटा हिमताल फुटेको पुष्टि गरेको हो। प्रभावित १९ घरधुरीका ३३ जना त्रिपालमा आश्रय लिइरहेका छन्। उनीहरूलाई तत्काल खाद्यान्नको व्यवस्था गरिएको वडाध्यक्ष तामाङले बताए।
’स्थिति गम्भीर छ, यो वडा वा पालिकाले मात्र थेग्न सक्ने अवस्था होइन, संघीय सरकारको तत्काल हस्तक्षेप जरुरी छ,’ उनले भने।
जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख नारायण पाण्डेयले गृह मन्त्रालय, विपद् महाशाखा र भूगर्भ विभागसँग समन्वय भइरहेको जानकारी दिए। उनका अनुसार सुरक्षाकर्मीको टोली स्वास्थ्य समस्या र दुर्गम बाटोका कारण बीचैमा फर्कन बाध्य भएको थियो।
स्थानीयहरूले उद्धारका लागि हेलिकोप्टर पठाइदिन आग्रह गरेका छन्। घटनास्थल अध्ययनपछि थप रणनीति बनाउने तयारी भइरहेको प्रमुख पाण्डेयले बताए।
#हुम्ला# तिलगाउँ# बाढी#विस्थापित